भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा


 


काठमाडौं भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर बुधबार मध्यान्ह काठमाडौं आइपुगेका छन्। विदेशमन्त्री भएपछि पहिलो पटक उनी नेपाल भ्रमणमा आएका हुन्। जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्।

नेपालले संविधान निर्माण गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल आएका उनी मन्त्री भएपछि फेरि आएका हुन्। आजदेखि सुरु हुन लागेको नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन उनी आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले प्रधानमन्त्रीलाई आजै २ बजे भेट्नेछन्। यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ। त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वका साथ लिएका छन्। अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आएलगत्तै बैठक आरम्भ हुने छ।

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्