ताप्लेजुङ पुगेर मन्त्री भट्टराईले भने – सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या निराकरण हुन्छ


 


ताप्लेजुङ, भदौ ५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताउनुभएको छ । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आइपुग्नुभएका भट्टराईले बिहीबार बिहान विमानस्थलको अनुगमन गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नति गरिने बताउनुभयो ।

मौसम खराबी लगायतका कारण नियमित उडान नहुँदा जिल्लावासी तथा पर्यटक सुविधाविहीन भएकाले विमानस्थलको स्तरोन्नतिमा ढिला नहुने उहाँको भनाइ छ । विमानस्थलको दुवै भागबाट विमान अवतरण गर्न सक्ने गरी स्तरोन्नति गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने उहाँको भनाइ छ । तराईका केही विमानस्थलमा यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।

मौसम खराबीकै कारण सुकेटार विमानस्थलमा हरेक वर्षको असारदेखि झण्डै असोजसम्म नै उडान अवरुद्ध हुने गरेको छ । नेपाल वायु सेवा निगमले उडान गर्दै आएको यस विमानस्थलमा गएको असारदेखि मौसम खराबीकै कारण उडान अवरुद्ध छ । साताको सोमबार, बुधबार र शनिबार उडान गर्ने नेपाल वायु सेवा निगमको नियमित कार्यतालिका छ । विमानस्थलमा नियमित उडान नहुँदा कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर आउने पर्यटकसमेत मारमा पर्दै आएका छन् ।

यसैबीच मन्त्री भट्टराईले आजै बिहान जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको ‘समुदाय–प्रहरी पुस्तकालय’ लाई सहयोग हस्तान्तरण गर्नुभएको छ । नेपाल पुनर्बीमा कम्पनीले उपलब्ध गराएको तीन लाखको चेक फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेललाई उहाँले हस्तान्तरण गर्नुभएको हो । मन्त्री भट्टराईको पहलमा उक्त रकम कम्पनीका महेश गुरागाईंले पुस्तकालयमा पुस्तक खरीदका लागि सहयोग गर्नुभएको हो ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्