प्रचण्डले भने – जनताको हितलाई ध्यान नदिए सत्ता उल्टिन्छ


 


काठमाडौं, भदौँ ६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सत्तामा जानुअघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धी सजिलै गुम्न सक्ने खतरा औल्याएका हुन् ।

कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै प्रचण्डले कम्युनिस्ट नेताले सत्तामा पुगेपछि कम्युनिस्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए ।

‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुदै गएपछि राजा महाराजविरुद्ध लडेका जनताहरु कम्युनिस्ट पनि राजा महाराजा जस्ता देखिएपछि । यिनलाई पनि लखेट्नु पर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा,’ उनले भने, ‘हामी कहा पनि यसो हेर्दा लक्षण चाही । कुरा बुझ्नु भयो नि । सिस्टम चाही कता कता त्यस्तै देखिने ।’

प्रचण्डले दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुसासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी जनाए । विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिस्टहरु अहिले अनुशासनहिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृत्ति बढेको उनको टिप्पणी थियो ।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिद्धताहरु विर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिनतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्