कश्मीर विवाद सुल्झाउन पाकिस्तानले नेपालसँग माग्यो सहयोग


 


काठमाडौं । जम्मू-कश्मीरको विवाद सुल्झाउन पाकिस्तानले नेपालसँग सहयोग मागेको छ। भारतीय विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमण सकेर दिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले जम्मू कश्मीर मामिलामा नेपालसँग सहयोगको प्रस्ताव गरेका हुन्।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बिहीबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन मार्फत कश्मीरको पछिल्लो अवस्था बारे जानकारी गराउँदै नेपालसँग सहयोगको माग गरेका हुन्। यसको पुष्टी गर्दै मन्त्री ज्ञवालीले गरेका छन्।

सीमा क्षेत्रमा बढेको तनाव सुल्झाउन नेपालले पनि आफ्नो भूमिकाका बारेमा विचार गरोस् भन्ने प्रस्ताव गरेको उनले बताए। जवाफमा मन्त्री ज्ञवालीले कश्मीर समस्याको हल दुबै देशबीचको संवादबाट निकाल्नुपर्ने बताएका थिए।

नेपालले कश्मीरका पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै मन्त्री ज्ञवालीले आफूहरु क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको बताएका थिए। मोदी सरकारले कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने निर्णय गरेसँगै अहिले उक्त विषयले तनाव सृजना गरेको छ।

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्