किशोर श्रेष्ठ भन्छन् : रविप्रति कुनै पूर्वाग्रह छैन, तर पुडासैनीले न्याय पाऊन्


 


पाल्पा : प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मी रवि लामिछानेले सफाइ पाउनेमा आफू आशावादी रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा उनले रविसँग आफ्नो पूर्वाग्रही भावना नभएको समेत स्पष्ट पारेका छन्।

‘बाहिर हल्ला भएजस्तो उनीसँग मेरो व्यक्तिगत रिसइबी छैन,’ उनले भने, ‘अनुसन्धानको दायरामा रहेका रवि छिटै सफाइ पाएर बाहिर निस्कने छन्।’ यद्यपि मृतक पत्रकार शालिकराम पुडासैनीले न्याय पाउनुपर्नेमा उनले जोड दिएका छन्। पुडासैनीको भिडियो १३ मिनेटको मात्रै भएको उनले जिकिर गरे। ‘भिडियो मैले उनको परिवारसँग लिएको हो। यदि १३ मिनेट भन्दा बढीको भिडियो कसैले ल्याउँछ र पुष्टि गर्छ भने म हतकडी लगाएर जेल जान तयार छु’ उनले भने।

हल्लाको पछाडि नलाग्‍न श्रेष्ठले आग्रह गरे। प्रविधिको जमानामा यस्तो कुरा कसैले लुकाएर नलुक्ने उनले बताए। ‘हामी पत्रकार हौँ त्यसपछि विभिन्‍न ठाउँका पदाधिकारी हौँ, हामीले आफ्नो जमिन र धरातल बिर्सनु हुँदैन’, उनले भने, ‘प्रेस काउन्सिलको पद भनेको जिन्दगीको घामछाया हो। आज आउँछ, भोलि जान्छ, त्यो स्थायी रूपमा लैजान सकिदैन।’

आफूले प्रेस काउन्सिलको नियममा रहेर काम गरेको उनले बताए। ‘मैले कसैसँग पूर्वाग्रह साँधेको छैन। म आफैँ पनि पीडित हो’, उनले सुनाए, ‘समाचार लेखेकै भरमा ज्यान मुद्दा झेलेको छु। यो पदमा बसेर कसैलाई काखा र पाखा गरेको छैन र गर्ने पनि छैन।’ पछिल्लो समयमा पत्रकारितको नाममा मनपरी बढेकोप्रति उनले चिन्ता प्रकट गरे। ‘कसैले समाचारकै कारण आत्महत्या गरेका छन्, स्वयम् पत्रकारिता क्षेत्रको बदनाम पनि भएको छ,’ अध्यक्ष श्रेष्ठले भने।

पत्रकारिताको साख बचाउन आचारसंहिता संशोधन गरेर ल्याउने तयारी भइरहेको उनको भनाइ छ। मिडियामा समाचार नभई सामाजिक सञ्जालमार्फत् गैरअभिव्यक्ति दिने र व्यक्तिगत अभिष्ट पूरा गर्नेको पछाडि प्रेस काउन्सिल नलाग्ने उनले बताए। युट्यूबले पत्रकारितामा विकृति ल्याएको उनको ठम्याई छ। यसप्रति सम्बन्धित निकायले गम्भीर बहस चल्न उनले सुझाए।

‘जसले गाली गर्दै चिच्याउन सक्यो, युट्युबमा भिडियो राख्यो, त्यही चर्चामा आएर पैसा कमाउँछ। यो नियमसंगत छैन। जुन युट्युब नेपालमा दर्ता नै छैन्’, श्रेष्ठले भने, ‘पत्रकार र युट्युबरहरू फरक हुन् कि एउटै भन्‍ने स्पष्ट हुन आवश्यक छ। चितवनमा सोधेर नै युट्युबकर्तालाई प्रहरीले लखेट्यो। यसलाई के भन्‍ने?,’ उनले प्रश्‍न गरे।

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्