प्रहरी महानिरीक्षकले चितवन पुगेर रवि र युवराजलाई भेटे


 


काठमाडौं : जिल्ला भ्रमणमा निस्किएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई भेटेका छन्।

स्थलमार्गबाट जिल्ला भ्रमणमा निस्केका उनले शुक्रबार दिउँसो चितवन प्रहरीको हिरासतमा रहेका रवि र युवराजलाई भेटेका हुन्। प्रहरी अधिकारीका अनुसार चितवन हुँदै पश्चिमी क्षेत्रका प्रहरी कार्यालयको भ्रमणमा निस्केका उनले हिरासतमा रहेका दुवैलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन्।

उनीहरुलाई भेट गरेर खनालले कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकृतले जानकारी दिए। यद्यपि चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने यसबारेमा बोल्न इन्कार गरे। ‘मैले यसबारेमा केही बोल्न मिल्दैन’, उनले भने, ‘यसबारेमा प्रहरी सह-प्रवक्तलाई सोध्नुस् ।

प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेल अमेरिकातर्फ लागेपछि प्रहरी प्रधान कार्यालयले शुक्रबारै एसएसपी उमेशराज जोशीलाई सह-प्रवक्ता तोकेको छ। चितवन प्रहरीको निरीक्षण भ्रमणका क्रममा खनालले हिरासत कक्षको निरीक्षण गरेका थिए।

त्यही क्रममा उनले रवि र युवराजलाई भेटेका हुन्। चितवन प्रहरी कार्यालय निरीक्षणपछि खनाल नवलपरासी हुँदै रुपन्देहीतर्फ लागेका छन् । उनले नवलपरासी प्रहरीको पनि निरीक्षण गरेको नेपाल प्रहरीका सह-प्रवक्ता उमेशराज जोशीले बताए।

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्