एकता प्रक्रिया पूरा गर्न प्रचण्ड सक्रिय हुँदै


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणका बाँकी कार्य पूरा गर्ने गृहकार्यमा लागेका छन् ।

पार्टी स्थायी समितिका सदस्य देवेन्द्र पौडेलका अनुसार अध्यक्ष प्रचण्डले एकचरण सबैसँग छलफल गरी सचिवालयको बैठक बोलाउनेछन् । सचिवालयको बैठक मङ्गलबारसम्म बोलाउने तयारी भइरहेको नेता पौडेलले बताए ।

अध्यक्ष प्रचण्डले आइतबार सचिवालय सदस्यहरू ईश्वर पोखरेल र वामदेव गौतमसँग भेटघाट गरी साङ्गठनिक एकताका बाँकी प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गरेका छन् ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिङ्गापुर जानुअघि सचिवालयको बैठक बसाएर पार्टी एकीकरणका कामहरू टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएका थिए ।

प्रचण्डले सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाएका छन् । सचिवालयको बैठकले गरेका निर्णयप्रति सात बुँदे असहमति दर्ता गराएका सचिवालय सदस्य माधवकुमार नेपालसँग पनि अध्यक्ष प्रचण्डले छलफल गरेका छन् । गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्