मोरङमा २३६ पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराए, विदेश गएर फर्कनेहरू बढी


 


विराटनगर । मोरङ जिल्लामा सम्बन्ध विच्छेद गर्ने पुरुषकाे सङ्ख्या बढ्दाे छ । नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने गरी कानुन निर्माण गरेपछि यहाँकाे जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्नेहरुमा महिलाको तुलनामा पुरुषको संख्या बढेको हाे ।

नयाँ कानुन लागू भएपछि मोरङमा २ सय ३६ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको जिल्ला अदालत मोरङका श्रेष्तेदार इश्वरमणी ओझाले जानकारी दिनुभयो । गत वर्ष भन्दा अघि महिलाहरूले मात्र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउँदै आएका थिए ।

पुरुषहरूले दर्ता गराएको मुद्दा फैसला हुन करिब एक वर्ष लाग्ने भएकाले गत आर्थिक वर्षमा २ सय ३६ वटा मुद्दा मध्ये ८६ वटा मुद्दा मात्र फैसला हुन बाँकी रहेको श्रेष्तेदार ओझाले जानकारी दिनुभयो ।

पुरुषहरूले सम्बन्ध विच्छेदको मुद्दा हाल्न पाउने भए पनि पुरुषहरूको तुलनामा महिलाहरूको मुद्दा बढी आएको जिल्ला अदालत मोरङले जनाएको छ ।

पारिवारिक रहन सहन, बाहिरी वातावरणको आकर्षण , घरायसी वेमेल र धेरैजसो वैदेशिक रोजगारको कारण नै श्रीमान् श्रीमती बिचको सम्बन्धमा नकारात्मक विचार पैदा हुनाका साथै भावनात्मक सम्बन्ध बिग्रिएका कारण सम्बन्ध विच्छेद हुने गरेको अदालतले जनाएको छ ।

सम्बन्ध विच्छेद मुद्दा हाल्नेहरूमा वैदेशिक रोजगारमा गएर फर्केका श्रीमानहरू नै बढी रहेको जिल्ला अदालतले जनाएको छ ।

अदालतमा सम्बन्ध विच्छेदको लागि परेका निवेदनको आधारमा पहिले त दुवै दम्पतीलाई कार्यालयमा झिकाएर मेलमिलाप गराउने प्रयास गरिन्छ । तर मेलमिलाप हुनै नसक्ने अवस्थामा मात्र निवेदन परेको एक वर्षभित्र दुवै दम्पतीको मञ्जुरीमा मुद्धा फैसला गर्ने काम जिल्ला अदालतले गर्दै आएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्