प्रचण्डको अध्यक्षतामा नेकपाको पहिलो सचिवालय बैठक, दिउँसाे पार्टी कार्यालयमा बाेलाइयाे


 


काठमाडौं, ९ भदौ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे अध्यक्षतामा आज पार्टीको पहिलो सचिवालय बैठक बस्दै छ । नेकपामा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर रहेकाले प्रचण्डले नै आजको बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको सो बैठकमा पार्टीको एकताका बाँकी काम टुंगो लगाउने कार्यसूची छ । टुंगो लागिसकेका कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा समेत छलफल गरिने एजेन्डा राखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो अझै लागेको छैन ।

उपचारका लागि सिंगापुर जानुअघि अर्का अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा बैठक बोलाउने लगायतका कार्यकारी जिम्मेवारी प्रचण्डलाई दिएका थिए । यसअघि दुवै अध्यक्षको उपस्थितिमा मात्रै सचिवालय बैठक बस्दै आएको थियो भने सो बैठक प्रधानमन्त्री समेत रकेका ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउँदै आएका थिए । यसपटक भने भने बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो ।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्