नेपाली चेली ‘दुलही’ बन्दै चीनमा बेचिँदै


 


काठमाडौं, भदौँ १४

नेपाली चेली छिमेकी मुलुक चीनमा ‘दुलही’ का नाममा १० लाख रुपियाँसम्म बिक्री हुने गरेको पाइएको छ । दुलही बनाएर युवती ओसारपसार गर्न सुरक्षित र सजिलो हुने भएकाले मानव तस्करहरूले यस्तो नयाँ शैली अपनाएका हुन् ।

नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ब्युरोले ‘दुलही’ बनाएर चीन लगिएका अधिकांश युवतीलाई देह व्यापारमा लगाउने गरेको दाबी गरेको छ । सो अपराधमा संलग्न रहेको अभियोगमा ६ जना नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन् ।

ब्युरो प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले विवाहको प्रलोभन देखाइ मानव तस्करी हुने गरेको विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारी नेपाल–चीन मानव तस्करीको एउटा सञ्जाल पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक हेलम्बुकी विविरानी भन्ने रिना तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेँसीसहरकी पार्वती गुरुङ, लमजुङकै अमृता गुरुङ, भरत तामाङ र उषाकुमारी घिमिरे छन् ।

त्यस्तै चिनियाँ नागरिक झिङ साङ दोङ, झाङ दोङ हुँ, क्वुङ झाङ पेङ र क्विन लियाङ रहेका छन् । चीनको हुवीका स्थायी बासिन्दा झिङ र झाङ काठमाडौंमा नै बसेर चीनबाट विवाह गर्न युवा बोलाउने दलाल रहेको जानकारी ब्युरो प्रहरीले दिएको छ ।

अभियुक्त क्युङ र क्विन विवाह गर्न भनेर केही दिनअघि नेपाल आएका हुन् । आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति: १४ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्