श्रीलंका संगकाे दोश्रो टि-२० पनि न्युजिल्याण्डकाे हातमा


 


कोलंबो भदौ १८
श्रीलंका विरूद्धको दोश्रो टी –२० पनि न्युजिल्याण्डले जितेको छ। मंगलबार भएको खेलमा उसले घरेलु टोलीलाई ४ विकेटले पराजित गरेको हो। पहिलो खेल न्युजिल्याण्डले ५ विकेटले जितेको थियो। दुई टेस्ट सिरिजमा ११ को बराबरी गरेका न्युजिल्याण्ड र श्रीलंकाले शुक्रबार तेश्रो तथा अन्तिम टि–२० खेल्नेछन्।

मंगलबारको खेलमा श्रीलंकाले पाहुना टोलीविरूद्ध पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १६१ रनको स्कोर खडा गरेको थियो। प्राप्त १६२ रनको लक्ष्यलाई न्युजिल्याण्डले १९ । ४ ओभरमा ६ विकेटको नोक्सानीमा हासिल गर्‍यो।

कोलिन डि ग्रानहोम न्युजिल्याण्डको जितका नायक बने। उनले ३८ रनमा ३ विकेट गुमाएको टोलीका लागि ४६ बल खेल्दै ५९ रन जोडिदिए। यसमा उनलाई टम ब्रुसले साथ दिए। ब्रुसले ४६ बलमा ५३ रन बनाए। उनीहरूले चौथो विकेटका लागि १०९ रनको साझेदारी गरे।
श्रीलंकाले अन्तिम समयमा फेरि छिटोछिटो न्युजिल्याण्डको विकेट लिए पनि हार टार्न सकेन। श्रीलंकाका लागि अकिला धनंजयले ३ विकेट लिए।

एकसमय न्युजिल्याण्ड ३ विकेटमा १४७ रनको स्कोरमा थियो। उसले त्यसपछि ८ रन जोड्दा ३ विकेट गुमाएको थियो जसका कारण उसको स्कोर ६ विकेटमा १५५ रन भयो। तर मिचेल स्याटनरले दुई बलमा १० रन बनाएर श्रीलंकाको जितको लक्ष्यलाई पूरा हुन दिएनन्।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्