झापामा वडा कार्यालयमै साथीमाथि छुरा प्रहार
भद्रपुर, भदौँ १८
झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा साथीमाथि छुरा प्रहार भएको छ । आज बिहान ११ बजे पुरानो रिसइवीका कारण सागर तिम्सिनाले साथीलाई छातीमा छुरा प्रहार गरेका हुन् ।
सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार