विराट कोहली सर्वाधिक टेस्ट जित्ने कप्तान


 


काठमांडाै १९ भदाै
भारतले वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज जितेसँगै विराट कोहली सर्वाधिक टेस्ट जित्ने कप्तान बनेका छन् । उनी भारतका लागि कप्तानका रूपमा सर्वाधिक २८ टेस्ट जित्न सफल भए । उनले महेन्द्र सिंह धोनीलाई पछि पारे । धोनीले यसअघि सर्वाधिक २७ टेस्ट जितेका थिए । सर्वाधिक बढी टेस्ट जित्ने कप्तानको तेस्रो नम्बरमा सौरभ गांगुली रहेका छन् । उनले भारतलाई २१ टेस्टमा जित दिलाएका थिए ।
कोहली धोनीलाई ४८ टेस्ट कप्तानीमै पछि पार्न सफल भए । यो दौरानले उनले २८ टेस्टमा जित निकाल्दा १० खेलमा बराबरी गरेका छन् । जसमा केवल १० टेस्ट मात्र कोहलीको कप्तानीमा भारत पराजित भएको छ । धोनीले भारतका लागि ६० खेलमा टेस्ट कप्तानको भूमिका निभाएका थिए । जहाँ भारतले २७ खेलमा जित निकाल्दा १८ मा हार र १५ मा बराबरी गरेको थियो ।

विदेशमा पनि सफल विदेशी भूमिमा पनि कोहली सर्वाधिक
सफल कप्तानका रूपमा रहेका छन् । उनको कप्तानीमा टिमले अहिलेसम्म विदेशी भूमिमा १३ टेस्टमा जित निकालेको छ । कोहलीअघि गांगुलीले सर्वाधिक ११ टेस्ट खेलेका थिए । धोनी भने तेस्रो स्थानमा रहेका छन् । उनको कप्तानीमा भारत विदेशमा केवल ६ टेस्टमा जित हासिल गर्न सफल भएको छ ।

सर्वाधिक खेल जिताउनेमा तेस्रो
कोहलीको नेतृत्वमा भारतीय टिमले अहिलेसम्म कुल एक सय एक अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ । उनी सबैखाले फम्र्याटमा देशलाई जिताउने तेस्रो सफल कप्तान हुन् । पहिलो स्थानमा एक सय ८१ जितका साथ महेन्द्रसिंह धोनी रहेका छन् । त्यस्तै, मोहम्मद अजरुद्दिनले एक सय चार खेलमा भारतलाई जित दिलाएका छन् ।

२०१४ बाट कप्तान
धोनीले २०१४ मा अस्ट्रेलिया भ्रमणका क्रममा कप्तानको जिम्मेवारी छोडेका थिए । त्यसपछि कोहलीलाई कप्तानको जिम्मेवारी सुम्पिएको थियो । उनको कप्तानीमा भारतले घरेलु मैदानमा अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पराजित गरेको छ । यद्यपि दक्षिण अफ्रिका र इंग्ल्यान्डमा भारतले सिरिज हारेको छ । गत वर्ष भारतले अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै सिरिज जितेको थियो । उक्त सिरिज दुई देशबीच ७१ वर्षे टेस्ट इतिहासमा भारतले अस्ट्रेलियन भूमिमा जितेको पहिलो सिरिजका रूपमा समेत रहेको थियो ।

पहिलो इनिङमा २९९ रनको अग्रता
भारतले पहिलो इनिङमा हनुमान विहारीको शतक र इशान्त शर्माको अर्धशतकको मद्दतमा ४१६ रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको वेस्टइन्डिज ११७ रन जोड्दा अलआउट भयो । भारतका लागि जसप्रित बुमराहले ह्याट्रिकसहित ६ विकेट लिएका थिए । जसका कारण भारत वेस्टइन्डिजविरुद्ध २९९ रनको अग्रता बनाउन सफल भयो ।

२१० मा अलआउट
भारतले दोस्रो इनिङमा १६८ मा ४ विकेट गुमाएको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि वेस्टइन्डिजले ४६८ रनको विजयी लक्ष्य पाएको थियो । तर, दोस्रो इनिङमा पनि वेस्टइन्डिजले गतिलो प्रदर्शन गर्न सकेन । जडेजा र शमीले दोस्रो इनिङमा ३–३ विकेट लिए ।

पहिलोपटक एक इनिङमा १२ खेलाडीले गरे ब्याटिङ
वेस्टइन्डिजका लागि दोस्रो इनिङमा १२ खेलाडीले ब्याटिङ गरे । खेलका दौरान ड्यारेन ब्रावो रिटायर्ड हर्ट हुन पुगे । उनको स्थानमा जर्मेइन ब्ल्याकवुड सब्स्टिच्युट ब्याट्सम्यानका रूपमा मैदान प्रवेश गरे । टेस्ट इतिहासमा पहिलोपटक कुनै एक टिमका १२ खेलाडीले एकै इनिङमा ब्याटिङ गरेको यो पहिलो अवसर हो । केही समयअघि आइसिसीले नियम परिवर्तन गरेपछि वेस्टइन्डिजले त्यसको सदुुपयोग गरेको हो ।

भारतको जितको शृंखला जारी
भारतले जमैकामा भएको वेस्टइन्डिजविरुद्धको दुई टेस्ट सिरिज कब्जा गरेको छ । उसले दोस्रो टेस्ट २५७ रनले जितेसँगै सिरिज २–० ले आफ्नो बनायो । भारत पहिलोपटक वेस्टइन्डिजलाई लगातार चार टेस्टमा पराजित गर्न सफल भयो । यसअघि २०१३ देखि २०१६ बीचमा भएको खेलमा भारतले तीन टेस्ट सिरिजमा वेस्टइन्डिजलाई हराएको थियो । समग्रमा वेस्टइन्डिजविरुद्ध भारतको यो आठौँ टेस्ट सिरिज हो । २००२ पछि भारतविरुद्ध वेस्टइन्डिजले टेस्ट सिरिज जित्न सकेको छैन ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्