दसैंको अग्रिम टिकट बुकिङ अझै अन्योलमा
काठमाडौं, भदौँ १९
दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ ।
बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो । व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् ।
उनीहरूले भाडा बढाउनुपर्ने विषयलाई पनि घुमाउरो पाराले अघि सारेका छन् । भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका छन् ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच बुधबार अग्रिम टिकट बुकिङ खुलाउने तयारीसम्बन्धी छलफल भएको थियो ।दुई पक्षीय छलफलमा सबै तयारी पूरा गरी अर्को साता अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने सहमति भएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।
प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार