दोस्रो चरणको छनोट खेलमा नेपालले आज कुवेतसँग खेल्दै


 


काठमाडौं –१९ भदौ
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
नेपालले तुलनात्मक रुपमा बलियो टोली कुवेतलाई रोक्ने योजना बनाएको प्रशिक्षक योहान कालिनने बताएका छन् । ‘कुवेत बलियो टोली हो । नेपालले पनि राम्रो तयारी गरेर आएको छ । हामी उत्कृष्ट खेल खेल्ने प्रयास गर्नेछौं,’ हिजो आयोजित पत्रकार सम्मेलनमा कालिनले भने । कुवेतसँगको खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्नेछन् ।

यसैगरी कुवेतका प्रशिक्षक रोमियो जोज्याकले आफ्नो टोलीले विश्वकपमा छनोट हुने योजनाका साथ लामो तयारी गरेको बताए । ‘हामीले नेपालसँगको खेललाई मात्र हेरेका छैनौं । छनोटका सबै खेल जित्ने कुवेतको लक्ष्य हो । नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ,’ जोज्याकले भने ।

फिफा वरियतामा समेत कुवेत नेपालभन्दा १० स्थान माथि छ । पछिल्लो बरियतामा कुवेत एक सय ५६ औं र नेपाल एक सय ६६ औं स्थानमा छ । यसअघि भएका खेलमा पनि नेपालले कुवेतलाई हराउन सकेको छैन । त्यसैले पनि नेपालका लागि आजको खेल अग्नी परीक्षा हुनेछ ।

नेपाल र कुवेत यसअघि ६ पटक भिडेका थिए । जसमा कुवेत पाँच खेलमा विजयी भएको छ । एक खेल बराबरीमा सकिएको थियो । दुई टोलीबीच सात महिनाअघि मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेल कुवेतले १–० गोलले जितेको थियो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ छ । यस समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । होम एन्ड अवेका आधारमा खेलिने छनोट खेलमा नेपालले कुवेतसँग दोस्रो खेल नोभेम्बर १९ तारिख घरेलु मैदानमा खेल्नेछ ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्