३० करोड रुपैयाँ लगानीमा भैरहवामा वाटर फन पार्क बन्दै


 


भैरहवा, १९ भदौ । भैरहवामा ३० करोड रुपैयाँको लगानीमा वाटर फन पार्क सञ्चालनमा आउने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी गरेसँगै भैरहवामा प्रतिनिधीसभा सदस्य प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क संचालनमा आउने भएको हो । पार्क भदौ २० गते देखि विधिवत् सञ्चालनमा ल्याउन लागेको हो ।

पार्क नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक भएको कम्पनीको दाबी छ । ४ बिगाहा क्षेत्रफलमा फैलिएको पार्कमा पहिलो चरणमा १५ करोडको लगानीमा बालबालिकादेखि वयष्कसम्मका लागि पानीमा मनोरञ्जन लिन विभिन्न स्लाइड र फाउन्टेन बनाइएका छन् ।

पार्कमा नेपालमै पहिलो पटक समुन्द्रको झल्को दिने वेभ पुल रहेको छ । यस्तै ३५ र १५ फिटको स्लाइडिंग, रेन डान्स, लेजी रिभर, बच्चाहरुको लागि बेबी स्लाइडिङ, जेट स्प्रे, अम्ब्रेला सावर, १२० फिट लामो र ३० फिट अग्लो लेन स्लाइड लगायत रहेको छ ।

पार्कमा २ किमी लामो कृतिम खोला निर्माण गरिएको छ जहा पाइडेल बोटिंग गर्न मिल्नेछ ।

यादवका अनुसार पार्कमा दोस्रो चरणमा एउटा ठूलो हल भित्र हिमपात (स्नोफल) गराएर हिउमा खेल्न मिल्ने सुबिधा प्रदान गर्ने योजना रहेको छ । त्यस हल भित्र आइस स्केटिङ पनि गर्न मिल्ने छ ।

अत्याधुनिक प्रविधीमार्फत शून्य डिग्री सेल्सियसमा हल भित्र हिमपात गराउने भावी योजना यादवको रहेको छ । पार्कमा रेस्टुराँ पनि सञ्चालनमा ल्याइएको छ । युवा लक्षित पुल पार्टी, सांगीतिक कार्यक्रम, फिल्म एवं म्युजिक भिडियो सुटिङ, फोटोसुटका लागि समेत उपयुक्त स्थान भएको यादवले बताए ।

‘भैरहवामा मनोरञ्जनका लागि गन्तव्य र आकर्षण थपिएको छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘पूर्ण सुरक्षाका साथ दम्पती, पारिवारिक र समूहगत मनोरञ्जन तथा सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’

पार्कका इन्जिनियर पाल्डुप लामाका अनुसार पार्क अमेरिकन प्रविधीमा डिजाइन गरिएको छ । लामाले पार्क पुर्णरुमा सुरक्षालाई ध्यान दिएर बनाएको दावी गरे । पार्कमा विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको क्यामिकल प्रयोग गरेको जानकारी लामाले दिए ।

त्यस्तै पार्कमा नेपालमै पहिलो पटक न्युम्याटिक फिल्टर सिस्टम प्रयोग गरिएको छ । पार्कमा नेपालकै उत्कृष्ट फिल्टर सिस्टम प्रयोग भएको छ । पार्कको रेन डान्स नेपालकै सबैभन्दा ठुलो भएको दावी संचालकको रहेको छ ।

रेडसन वाटर फनपार्कले करिव ६० जनालाई रोजगारी सिर्जना गर्नेछ भने एकपटकमा करिव ७ सय जनालाई सेवा प्रदान गर्नेछ । पार्कमा प्रवेश गर्नको लागि ५ सय रुपैयाँ शुल्क लाग्ने भएपनि यस बर्षको छठ पर्व सम्म ३ सय ५० रुपैयाँ कायम गरिएको छ ।

एकपटक प्रवेश गरेपछि पार्कमा दिनभर बस्न सकिने जानकारी संचालकले दिएका छन् । पार्कमा जेष्ठ नागरिक र विद्यार्थीलाई छुटको व्यवस्था समेत गरिएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्