डेंगुबाट राजधानी लगायत ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित


 


काठमाडौं, २० भदौ ।
डेंगुबाट राजधानी काठमाडौं लगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ ।

सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो ।

काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।

काठमाडौंका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको छ । २०७० र ७१ मा ३०२ जना, २०७१ र ७२ मा १३४ जना, २०७२ र ७३ मा १ हजार ५२७ जना, २०७३ र ७४ मा २ हजार १११ जना, २०७४ र ७५ मा ८११ जना, २०७५ र ७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ६० दिनमा २ हजार ९०८ जना यसबाट प्रभावित भइसकेका छन् ।

डेंगु महामारीका रूपमा फैलिएपछि मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए ।

गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल ४२ जिल्लामा फैलिएको छ । मन्त्रालयले पानी जम्न सक्ने भाँडाहरू गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिने उपाय अवलम्बन गर्न सके मात्रै डेगुंको जोखिम घट्ने जनाएको छ ।

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्