योगेशको अर्काे कदमः त्रिभुवन विमानस्थलमा अब नयाँ सुविधा, यात्रुको झन्झट हट्योे



काठमाडौं, भदौ २०

तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन । विमानस्थल कार्यालयले नेपालमै पहिलो पटक आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु गरेको हो ।

बेल्टको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलको सेवा स्तरोन्नतिको नयाँ थालनी भएको र यसलाई क्रमशः विस्तार गर्दै लगिने बताए।

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै विमानस्थलको सेवा सुदृढीकरणको कामलाई प्रथमिकताका साथ अघि बढाइने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले पर्यटकीय पूर्वाधारको रूपमा रहेका विमानस्थलको भौतिक संरचना निर्माण र प्राविधिक सुविधा अभिवृद्धि गरिने उल्लेख गरे। अन्तर्राष्ट्रिय मापदण्डको यो सेवा विमानस्थलले आन्तरिकतर्फ पहिलो पटक लागू गरेको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार कन्भेयर बेल्टमार्फत एक घण्टामा एक हजार २०० ‘ब्यागेज’ ‘क्लियर’ हुन्छ र एक मिटरले ७५० केजी क्षमताको ब्यागेज समेट्छ । कन्भेयर बेल्ट ३९ मिटर लामो छ । यसले यात्रुलाई ब्यागेज लिन सहज छिटो हुनका साथै विमानस्थलको सरसफाइमा पनि सहयोग पुग्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलबाट १० हेलिकप्टरसहित २० वटा वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News