हास्य टेलिश्रृंखला भद्रगोल पुन प्रशारण हुने


 


काठमांडाै २१ भदाै
६ हप्ताको अन्तरालपछि नेपाल टेलिभिजनबाट लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोल पुन प्रशारण हुने भएको छ । तर, निर्देशकद्वय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसहितको २१ जनाको समूह भने यस टेलिश्रृंखलाबाट बाहिरिएको छ ।

पाँडे र जिग्रीसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), गोविन्द कोइराला जस्ता चर्चित्र पात्रहरु अब भद्रगोलमा देखिने छैनन् । आजबाट सुरु हुने श्रृंखलालाई ज्योती काफ्ले र अशोक धितालले संयुक्तरुपमा लेखन तथा निर्देशन गर्ने भएका छन् । नक्कली बाबुराम भट्टराईको भूमिकाबाट चर्चित ज्योति भद्रगोलका प्रारम्भिक श्रृंखलामा मधेसी युवाको भूमिकामा अभिनय गर्थे । उनले अब सोही भूमिकालाई निरन्तरता दिनेछन् । अशोक भने जिग्री–पाँडेको समुहमै थिए । उनले भद्रगोलमा बाहुन डनको भूमिका निभाउँदै आएका छन् र सोही भूमिकालाई निरन्तरता दिनेछन् ।

गत साउन महिनापछि भद्रगोलको नयाँ श्रृंखला प्रशारण हुन सकेको थिएन । कार्यक्रम उत्पादक मिडिया हबले नेपाल टेलिभिजनसित गर्ने वाषिर्क सम्झौताको अवधि असार मसान्तमा सकिएको थियो । त्यसपछि नयाँ सम्झौता गर्ने क्रममा भद्रगोलको कलाकार समुह र मिडिया हबबीच विविध विषयमा कुरा नमिल्दा नयाँ श्रृंखला उत्पादन हुन सकेको थिएन ।

मिडिया हबले नेपाल टेलिभिजनसँग सम्झौता नवीकरण गरे पनि उक्त समयमा पुुरानो एपिसोड दोहोर्‍याउने गरिएको थियो । एक एपिसोडको समयका लागि मिडिया हबले नेपाल टेलिभिजनलाई एक लाख ९७ हजार रुपैयाँ बुझाउनुपर्छ ।

के हो विवाद ?

टेलिश्रृंखलाको उत्पादक मिडिया हबसित विभिन्न विषयमा कुरा मिल्न नसक्दा पाँडे–जिग्री समूह अलग्गिएको हो । मिडिया हबले आफूहरुलाई करिब ८ लाख रुपैयाँ दिन बाँकी रहेको दावी पाँडे–जिग्री समूहको छ । तर, मिडिया हब भने खासै पैसा बाँकी नरहेको बताउँछ ।

अनलाइनखबरसँगको कुराकानीमा अर्जुन घिमिरे(पाँडे) ले भने, ‘बारम्बार ताकेता गर्दा पनि उहाँहरुले हाम्रो हिसाब चुक्ता गर्नुभएको छैन । त्यसैले हामी अब आफ्नो पैसा उठाउन सीडीओ कार्यालयमा उजुरी गर्ने तयारीमा छौं ।’

प्रत्येक एपिसोडको उत्पादन लागतवापत एक लाख ५ हजार रुपैयाँ मिडिया हबले जिग्री–पाँडे समूहलाई दिने गरी दुई पक्षबीच सम्झौता थियो । यसैगरी यूट्यूवबाट हुने आम्दानीको आधा आधा हिस्सा दुई पक्षले लिने गरी सम्झौतामा उल्लेख थियो । उत्पादन खर्च र यूट्यूव खर्च गरी आठ लाख रुपैयाँ बढी आफूहरुले लिन बाँकी रहेको घिमिरे बताउँछन् ।

साथै, मिडिया हबले यूट्यूवबाट भएको आम्दानी पनि अपारदर्शी राखेको उनको आरोप छ ।

‘उहाँहरुले यूट्यूवबाट भएको आम्दानीको सही हिसाब हामीलाई देखाउनुभएको छैन, आफ्नो एकलौटि बनाउनुभएको छ,’ उनले भने ।

के भन्छ मिडिया हब ?

मिडिया हबका सञ्चालक सोम धितालले भने जिग्री(पाँडेको समूहलाई खासै पैसा दिन बाँकी नरहेको दावी गरे । उनको भनाइ अनुसार दिन बाँकी पैसा एक लाखभन्दा पनि कम छ ।

‘आठ लाख रुपैयाँ बाँकी रहेको प्रमाण देखाउनुभयो भने हामी सबै चुक्ता गर्न तयार छौं,’ उनले भने ।

जिग्री–पाँडेको समूहले यूट्यूवको सर्वाधिकार आफूहरुले पाउनुपर्ने डिमान्ड राखेपछि कुरा मिल्न नसकेको धिताल बताउँछन् ।

‘उहाँहरुले उत्पादन लागत पनि नघटाउने अनि यूट्यूवको पैसा पनि आफूहरुले एकलौटी लिन पाउनुपर्ने माग गर्नुभयो । हामी उहाँहरुलाई यूट्यूव राइट दिन तयार पनि भएका थियौं । तर, उहाँहरुले आफ्नो च्यानलमा नराखीकन अरुलाई बेच्ने कुरा गर्नुभएपछि हामी सहमत हुन सकेनौं ,’ धितालले भने ।

कपिराइट कस्को ?
भद्रगोलको कपिराइटमा पनि जिग्री–पाँडे समूहले दावी गरेको छ । तर, मिडियाहबले सन् २०१४ मा नै भद्रगोलको ट्रेडमार्क आफ्नो नाममा दर्ता गरिसकेको छ ।
आफूहरुलाई झुक्याएर मिडिया हबले ट्रेडमार्क हत्याएको पाँडे बताउँछन् ।

उनले भने, ‘भद्रगोलका खास सर्जक हामी हौं । यसको परिकल्पनादेखि लिएर डिजाइन, पात्र निर्माण सबै हामी (जिग्री र पाँडे)ले गरेका हौं । तर, त्यसको ट्रेडमार्क उहाँहरुले आफ्नो नाममा पारिसक्नु भएको रहेछ । हामीमाथि सरासर अन्याय भयो ।’

यद्यपि, ट्रेडमार्कको विषयलाई लिएर आफूहरु मुद्दा–मामलामा नजाने उनले प्रष्ट्याए ।

‘हामीले कानूनी प्रावधानहरु बुझ्दा भद्रगोलको ट्रेडमार्कमा हाम्रो बलियो दावी लाग्ने देखियो । तर, मुद्दामा जाँदा त्यसको किनारा लाग्न नै डेढ दुई वर्ष लाग्दो रहेछ । एक–डेढ वर्षसम्म कलाकारिता थाँति राखेर मुद्दा लडि बस्ने स्थिति छैन । त्यसैले यो विषयलाई हामीले अघि नबढाउने निष्कर्षमा पुगेका छौं ।’

भविष्यमा भद्रगोलमा निर्वाह गरेकै क्यारेक्टरहरुमा आधारित भएर पुरानाले टिमले नयाँ नाममा टेलिश्रृंखला बनाउन सक्ने उल्लेख गरे ।

मिडिया हबका धितालले भने भद्रगोल जिग्री र पाँडेको मात्र परिकल्पना नभएको दावी गरे ।

‘यो उहाँहरुको क्रियसन होइन, हामी सबैले मिलेर रचना गरेको टेलिश्रृंखला हो । उहाँहरुको पनि अलिकति इनपुट छ । तर सबै उहाँहरुले नै गरेको भन्ने होइन,’ धितालले भने ।

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्