नयाँ नोट कहिले, कहाँ र कति साट्न पाईन्छ ? हेर्नुहोस्


 


काठमाडौं, भदौ २३
दशैं नजिकिएसँगै नेपाल राष्ट्र बैंकले असोज १४ गतेदेखि नयाँ नोट वितरण गर्ने सूचना जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका २८ वटा बाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने जनाएको छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ ।

यस वर्ष नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने जनाएको छ । एक पटकमा प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ । सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

नेपाल बैंकको काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइनेछ ।

त्यस्तै, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्ने पाउनेछन् ।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्