अर्थमन्त्री हुनु त युवराज खतिवडा जस्तो, जसको तलब १६ हजार मात्र !


 


काठमाडौं, भदौ २३
देशको अर्थमन्त्रीको तलब कति होला ? पक्कै पनि जवाफ आउन सक्छ ५० हजार माथि । तर अर्थमन्त्री डा. युवराज खतिवडा भने मासिक १६ हजार मात्र तलब लिने गरेका छन् ।

तपाईलाई अचम्म लाग्न सक्छ अर्थमन्त्री खतिवडाले यति थोरै तलब लिन्छन् भनेर । तर यो सत्य हो । “म पेन्सनर हो, तलब खाँदिन । तपाईंहरुले तिरेको कर अर्थमन्त्रीलाई तिरेको होइन, मुलुकका लागि हो ।” हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा खतिवडाले यस्तो मन्तव्य समेत दिएका थिए ।

अर्थमन्त्री खतिवडाले राज्यकोषबाट मन्त्रीबापतको सुविधा नलिई काम गरिरहेका छन् । अर्थमन्त्रालयबाट खतिवडाले दोहोरो सुविधा नलिएको देखिन्छ ।

खतिवडा नेपाल राष्ट्र ब्यांकको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त हुन् । उनलाई पेन्सनबापत मासिक लगभग ४५ हजार आउँछ । उनले आफ्नो तलबमा यो पेन्सन कटाएर बाँकी रकम मात्रै लिदै आएका छन् ।

नेपाल सरकारको मन्त्रीको तलब सुविधा ६० हजार ९७० छ । यसमा राष्ट्र ब्यांकबाट आउने ४५ हजार कटाउँदा करीब १६ हजार मात्रै अर्थमन्त्रीले तलबका रुपमा लिने गरेका छन् ।

अर्थमन्त्री हुनुअघि खतिवडाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र ब्यांकको गभर्नर तथा राष्ट्रिय योजना आयोगका सदस्य भएर काम गरेका थिए । तर, यी सबै लाभको पदमा बस्दा खतिवडाले दोहोरो सुविधा लिएका थिएनन् ।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्