सुस्तामा किशाेरीमाथि १० जनाबाट सामूहिक बलात्कार !
नवलपुर, भदौ २४
आफ्नो कार्यालय जाँदै गरेकी युवती १० जनाबाट सामूहिक बलात्कारको सिकार भएकी छन् । नवलपरासीको पश्चिम सुस्तामा १९ वर्षीया किशोरीलाई नजिकैको उखुबारीमा लगेर १० जनाको समूहले पालैपालो बलात्कार गरेका हुन् ।
सुस्ता गाउँपालिका–३ सेखुवानामा सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो ।
युवकलाई कुटपिट गरेर युवतीलाई उखुबारीमा लिएर बलात्कार गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एकजना भने अझै फरार रहेको इप्रका बेलटारीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रीमलले बताए ।
बलात्कारमा १९ देखि ४० वर्षसम्म व्यक्तिहरु संलग्न रहेको छन् । पक्राउ पर्नेमा १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् ।
उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । उनीहरूलाई जबर्जस्ती करणी मुद्दामा सोमबार अदालतबाट म्याद थपेर हिरासतमा राखिएको नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आचार्यले बताए । पीडित किशोरी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।