नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन


 


काठमाडौं, भदाै २४

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार उद्घाटन गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रुपमा स्विच थिचेर भारतको मोतिहारीबाट नेपालको अमलेखगंजसम्म विच्याइएको सो पाइपलाइन परियोजनाको उद्घाटन गरेका हुन्।

नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसबाट संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत एकैसाथ स्विच थिचेर सो परियोजनाको उद्घाटन गरे। यो पाइपलाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजना हो। यो परियोजनाबाट नेपालले सस्तो, शुुद्ध र विना रोकावट पेट्रोलियम पदार्थको उपयोग गर्न पाउने अवसर प्राप्त गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

विगतमा ढुवानी अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको हाराकार हुने समस्या अव सो परियोजनाबाट पेट्रोलियम पदार्थ आउने भएपछि  समाधान भएर जानेछ। अर्थमन्त्री खतिवडाले भारतको सहयोगमा सो परियोजनाको काम सम्पन्न भएसँगै अव एलपी ग्याँस पनि पाईप लाईनमार्फत् ल्याउने परियोजनालाई अघि बढाउन पनि बाटो सहज भएको प्रतिक्रिया दिए। त्यसका लागि उर्जाको कनेक्टिभिटी र दुई मुलुकबीच रेल सेवा संचालनमा पनि जोड दिइएको अर्थमन्त्री खतिवडाको भनाई छ।

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्