प्रहरीको भेषमा मध्यरातमा किशाेरीलाई अपहरण गर्ने पक्राउ


 


धनगढी, भदौ २५
कैलालीको धनगढीमा प्रहरीको भेषमा मध्यरातमा किशाेरीको अपहरण गर्ने प्रहरीको फन्दामा परेका छन् । २१ गते राति १२ बजेतिर धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बाट एक किशाेरीलाई अपहरण गर्ने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर– १६ का २९ वर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ वर्षीय अनिल राना र २२ वर्षीय सन्दीप राना रहेका छन् ।

२१ गते राति १२ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित जाखोर ताल नजिककी १६ वर्षीय किशाेरीलाई उनीहरूले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै अपहरण गरेका थिए ।

२२ गते राती प्रहरीले उनीहरूलाई वडा नम्बर १६ बाट पक्राउ गरी युवतीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

किशाेरीको स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध अपहरण, शारीरिक बन्धक र जवरजस्तीकरणीमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्