मेयर शाक्यले काठमाडौं महानगरको इतिहासमै पहिलोपटक गरे यस्तो काम, जून कसैले गरेका थिएनन्


 


काठमाडौं, भदौ २५

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रामा नयाँ सुरुवात गरेका छन्। काठमाडौं उपत्यकाको उत्सवका रुपम चिनिने तथा उपत्यकाका रैथानेले राष्ट्रिय पर्वका रुपमा मान्ने इन्द्रजात्रामा मेयर शाक्यले पहिलोपटक विदेशी पाहुुना बोलाएका हुन्। यो महानगरको इतिहासमै पहिलोपटक भएको हो। जून यसअघिका मेयरले गरेका थिएनन्। नेपाली संस्कृति, सम्पदाको प्रवर्द्धन तथा पर्यटन भ्रमण वर्ष २०२० लाई टेवा पुगाउने उद्देश्यले महानगरले विदेशी पाहुना बोलाएको मेयर शाक्यले बताए।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले इन्द्रजात्रामा ६ देशका १२ सहरबाट ४५ जना विदेशी पाहुना निमन्त्रणा स्वीकार गरेर आउन लागेको बताए। उनका अनुसार अमेरिका, चीन, जापान, भुटान, बंगलादेश र भारतबाट पाँच मेयरसहित ४५ जना विदेशी पाहुना आउँदै छन्। पाहुनाहरु बुधबार साँझ तथा बिहीबार विहानसम्म काठमाडौं आइपुग्ने छन्।

‘६ वटा देशका १२ वटा सहरका ४५ जना इन्द्रजात्रामा सहभागी हुँदैछन्’, मेयर शाक्यले भने, ‘यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ।’

उनका अनुसार चीनको छेदुङ, लाङजाउ, ल्हासा, सेन्जेन, नामजिङ, सियानबाट पाहुना आउनेछन्। त्यसैगरी अमेरिकाको बोल्लर र फिक्सवर्ड, जापानको मात्सु मोटो, भुटानको थुम्पु सिटी, बंगलादेशको ढाका, साउथ सिटी र भारतको नर्थ दिल्लीबाट पाहुना आउँदै छन्।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा विदेशका विशिष्ट पाहुनाहरु आमन्त्रण गरी मनाउन लागिएको यो पर्वले नेपाल भ्रमण वर्षको प्रवर्द्धनलाई थप टेवा पुग्ने तथा नेपालको सांस्कृतिक पर्यटनको विकासमा समेत योगदान पुग्ने मेयर शाक्यको भनाई छ।

मेयर शाक्यले विदेशी पाहुनालाई सांस्कृतिक धरोहर, सम्पदा, भक्तपुर दरबार स्क्वायर, ललितपुर पाटन दरबार र चन्द्रागिरी घुमाइने बताए। ‘छोटो समयमा सकेसम्म उपत्यकाको सबै सांस्कृतिक सम्पदाको अवलोकन गराउँछौं’, मेयर शाक्यले भने।

८ दिनसम्म मनाइने इन्द्रजात्रा मंगलबार हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरेसँगै सुरु भएको छ। जत्राका क्रममा नगर परिक्रमा गरिने श्री कुमारी, श्री गणेश, श्री भैरवको रथयात्रा, लाखेनाच, पुलुकिसी, दिप्याखं, महाकालीनाच लगायत अन्य थुप्रै सांस्कृतिक र धार्मिक परम्परा प्रस्तुत हुन्छ। कुमारीको रथयात्रामा राष्ट्रप्रमुख (राष्ट्रपति) सहभागी हुने परम्परा छ भने अन्तिम दिन कुमारी घरमै राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका ग्रहण गर्ने चलन छ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्