संशोधनकर्ताबाट सुझाव पेश


 


काठमांंडाै २५ भदाै
प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि संशोधनकर्ता प्रदेशसभा सदस्यले आआफ्ना राय र सुझाव दिएका छन् ।

संशोधनकर्ता प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी, श्रीप्रसाद मैनाली, राजन राई र शिवनारायण गनगाइर्ले विधेयकको मस्यौदामा चौपायाका कारण राजमार्गमा सवारी दुर्घटना हुँदा चौपायाको क्षतिपूर्ति तिर्नु नपर्ने र चौपाया धनीलाई कम्तीमा रु पाँच हजारदेखि रु १० हजार जरिवाना लगाइ केही समय कैदको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

उनीहरुले सवारी दुर्घटनामा मृत्यु भएका परिवारले कागजपत्र पेश गरेको १० दिनभित्रमा बीमा कम्पनीले क्षतिपूर्तिको रकम व्यहोर्नुपर्ने र अन्यको हकमा कम्तीमा ३५ दिनभित्रमा कागजपत्रको आधारमा उपचार खर्च पाउने व्यवस्था विधेयकमा उल्लेख हुनुपर्ने बताएका छन् ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबे जवेगुले वार्षिक प्रतिवेदन सदनमा पेश गरे । उनले समितिले तयार गरेको प्रतिवेदनले यस क्षेत्रमा निकै सुधार हुने अपेक्षा गरेका छ ।

प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले शून्य समयमा नेपालको व्यापार चीन र तिब्बतमा विस्तार गर्न महत्वपूर्ण मानिएको जोगवनी–किमाथाङ सडकको स्तरोन्नति हुनुपर्ने माग गरे । सदस्य कुलप्रसाद साम्वाले मोरङको उर्लाबारी नगरपालिकाको परिषद्मा देखिएको समस्या समाधान गर्न प्रदेश सरकारले त्यस किसिमको कानून बनाउन सुझाव दिए ।

सदस्य केदार कार्की र सदस्य खिनु लाम्वा लिम्बूले जनताको आवास कार्यक्रमको कार्यविधिलाई परिमार्जन गरी शहीद परिवार, अपाङ्ग र द्वन्द्व परिवारले पनि सो सुविधा पाउनुपर्ने प्रावधान राख्न माग गरे । अर्का सदस्य राजकुमार राईले खोटाङको सासु खोलामा समयमै निर्माण कम्पनीले पुल निर्माण गरेकाले खुशी व्यक्त गर्दै पाइपलाइनबाट ग्यास पाउने कुराले सरकारको कामप्रति कृतज्ञता व्यक्त गरे ।

सदस्य विमल कार्कीले उदयपुर जिल्लालाई कम्तीमा एक हजार मेट्रिकटन रासायनिक मल युरिया पाउनुपर्ने माग गर्नुभयो । सदस्य सुमित्राकुमारी चौधरीले उदयपुरमा विमानस्थल निर्माणको कुरा कहाँ अड्किएको छ भन्दै सरकारसँग प्रश्न गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भदौ २६ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्