‘बद्मासी गर्नेलाई छोड्नुहुन्न’ भन्दै गृहमन्त्रीले आफ्नै भाइलाई गिरफ्तार गराए


 


काठमाडौं, भदौ २६

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठेकेदारसँग फिरोती मागेको तथा अपहरणमा संलग्न रहेको अभियोगमा गृहमन्त्री रामबहादुर थापा बादलका साहिला भाई नरेशकुमार थापालाई नियन्त्रणमा लियो। सिआइबीले अदालतको आदेशबाट नरेशलाई न्यायिक हिरासतमा राखेको छ।

उनको केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेत लगायत डन समूहसँग कनेक्सन देखिएपछि सिआइबीले उनलाई नियन्त्रणमा लिएको हो। सो समूहसँग मिलेर उनले ठेकेदारसँग फिरौती रकम लिएको पाइएपछि सिआइबीले केही दिनअघि नरेशसँग बयान लिएको थियो।

सो बयानपछि सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएपछि अदालतको आदेशबाट रमेशलाई न्यायिक हिरासतमा राखिएको ब्युरो प्रमुख डिआईजी निरजकुमार शाहीले जानकारी दिए।

रमेशलाई समात्न गृहमन्त्रीको साथ

डिआइजी शाहीका अनुसार गृहमन्त्रीकै निर्देशनमा रमेशलाई हिरासतमा लिइएको हो। अनुसन्धानमा गृह मन्त्रालयबाट असहयोग नभएको उनकाे भनाइ छ।

प्रहरी स्रोतका अनुसार जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्नेत समूहका सदस्य र नरेशबीच नियमित सम्पर्क हुने गरेको सूचना पाएपछि आइजिपी सर्वेन्द्र खनालले गृहमन्त्री थापालाई भेटेर जानकारी गराएका थिए। जवाफमा गृहमन्त्री थापाले ‘त्यस्तो केही देखिन्छ भने अनुसन्धान गर्नुस्, बदमासी गर्ने कसैलाई पनि छोड्नु हुँदैन’ भनेर निर्देशन दिएका थिए। गृहमन्त्रीले नै निर्देशन दिएर बाटो खोलिदिएपछि नरेश पक्राउ परेका हुन्।

प्रहरी अनुसन्धानमा नरेशलाई बस्नेत समूहले प्रयोग गरेको देखिएको छ। नरेश पूर्वभारतीय सैनिक हुन्। गृहमन्त्रीको यो व्यवहारबाट कानुनी राज्यको आभाष भएको छ। कानुनी राज्यमा सबै बराबर हुन्छ भन्ने सन्देश गएको छ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्