यातायात क्षेत्रलाई व्यवस्थित बनाउन पहल थालौँ


 


चिप्लेढुङ्गा, २८ भदौ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य खगराज अधिकारीले सार्वजनिक यातायात व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद अधिकारीले यातायात क्षेत्रको सवाललाई समाधान गर्न आफू तयार रहेको भन्दै उनले व्यवसायीको संस्थाहरु कम्पनीमा रुपान्तरण भएपछि उत्पन्न अन्योलतालाई हल गर्नका लागि कार्यदल बनाएर काम थाल्न सुझाव दिए ।

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेश कमिटीले पोखरेली ट्याक्सी सेवा प्रालि र स्थानीय यातायात प्रालिका नवनिर्वाचित पदाधिकारी र सञ्चालक समितिको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा नेता अधिकारीले यातायात क्षेत्रको सवाललाई संविधानले समेटेको विषयलाई आधार मानेर काम गर्न आग्रह गरे ।
नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले सार्वजनिक सवारीको भाडा समायोजन गर्नका लागि पहल गर्ने बताए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले कम्पनी रजिष्ट्रारको कार्यालय प्रदेशमा नहुदा व्यवसायीहरु शेयर नामसारी गर्न काठमाडौँ जानुपरेको गुनासो व्यक्त गरे ।

कार्यक्रममा स्थानीय यातायात प्रालिका सञ्चालक रामचन्द्र लामिछाने, नेपाल टे्ड र युनियन महासङ्घ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्री, यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, सचिव नारायण रिमाल, यातायात स्वतन्त्र मजदूर सङ्गठन पोखरा महानगर कमिटीका अध्यक्ष रामचन्द्र सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्