मन्दिरको ८४ बिघा जमीन गायव, माफियाले ढड्डा नै लुकाए भिडियोसहित


 


काठमाडौं । प्रदेश नम्बर ५ को एउटा जिल्ला बाँके र बाँकेको पनि विकसित शहर नेपालगञ्ज । त्यहाँ मन्दिर छ। पश्चिमी नेपालको सर्वाधिक चर्चित शक्तिपीठ । आस्थाका आधारमा पूजा गर्न जाने र धार्मिक पर्यटकीय दृष्टिकोणबाट पनि मन्दिरको ख्याति छ । वागेश्वरी मन्दिर प्राचीन र पुरातात्विक महत्वको धरोहर पनि हो ।

वागेश्वरी मन्दिर व्यवस्थापन, सञ्चालन र संरक्षणका लागि दाताहरुले ८४ बिघा जमीन प्रदान गरेका थिए । दाताले दानस्वरुप दिएको तत्कालीन इन्द्रपुर गाउँ विकास समितिमा रहेको ८४ बिघा जमीन २०५६ सालसम्म वागेश्वरी मन्दिरकै नाममा थियो । तर २०५७ सालमा मन्दिरको समुच्चा जमीन व्यक्तिका नाममा पास भयो गुपचुप, लुकिछिपी ।

बाँकेको साबिक इन्द्रपुरमा रहेको वागेश्वरी मन्दिरको ८४ बिघा जग्गा भक्तजनलाई प्रसाद बाँडिए झैँ तीनसय व्यक्तिका नाममा रजिष्ट्रेशन पास भएको छ । भगवानको घर कसरी मान्छेका नाममा आयो, त्यो पनि तीनसयका नाममा ? वागेश्वरी मन्दिरको जग्गा भूमाफियाले बिक्री गरेको खुलासा पछि नेपालगञ्जमा देवताकै घर माफियाले बेचेको हल्लिखल्ली मच्चियो । चर्चा परिचर्चा शुरु भयो । सार्वजनिक सम्पत्ति र मन्दिरको धरोहर मासिएको थाहा पाएर नागरिकस्तरबाट खोजबिन तथा छानविन शुरु भयो । तर कसले र कसरी मन्दिरको जग्गा व्यक्तिका नाममा पारे भन्ने सत्यतथ्य पत्ता लाग्न सजिलो थिएन । गर्नेहरु पनि बोल्थेनन्, वागेश्वरी माता पनि बोल्दिनन् । बोल्ने निकायको बोली पनि फरक छ ।

वागेश्वरी गुठी समितिका सचिव गोपालप्रसाद अधिकारी वागेश्वरी मन्दिरको जग्गाबारे विभिन्न समयमा गरिएका निर्णय तथा कागजात समेत फेला नपरेको बताउनुहुन्छ । मालपोत कार्यालय बाँकेमा २०५७ सालतिरको अभिलेख फेला परे पनि त्यसभन्दा अघिका महत्वपूर्ण कागजात फेला परेनन् ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर नगरपालिकाले त्यसबारे खोजविन गरिरहेको बताउनु हुन्छ । २०२७–२८ सालतिर मन्दिरको जग्गासम्बन्धी तयार गरिएको ‘मिसिल’ फेला पार्न नसकिएको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेको सपाट जवाफ छ । २०५७ सालतिरको रेकर्डमा जग्गाको सामान्य स्थिति पत्ता लाग्यो तर त्यसभन्दा अघि २०२७–२८ सालतिरको मिसिल फेला पार्न सकिएन भन्ने जवाफबाहेक थप जिम्मेवारी बहन छैन कार्यालयको । मिसिल फेला परे मन्दिरको जग्गा कसको नाममा कसरी गयो भन्ने थाहा हुन्थ्यो । तर भूमाफियाहरुले सरकारी कार्यालयको मूल ढड्डा नै गायव पारेपछि पुरानो रेकर्ड भेटिने कुरै भएन । मन्दिरको जग्गा पनि बाँकी रहेन ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्