चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ


 


सुरुङ्गा ३० भदौ

नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् ।

विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

केही दिनअघि बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा प्रहरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्