सन् २०२५ भित्र बालविवाहमुक्त प्रदेश बन्ने


 


विराटनगर, ३१ भदौ
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सन् २०२५ सम्ममा ‘बालविवाहमुक्त प्रदेश’ घोषणालाई सफल बनाउन सहयोग गर्न आह्वान गरेका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा आज बिराटनगरमा आयोजित राष्ट्रिय बालदिवस–२०७६ को उपलक्ष्यमा ‘भविष्यका कर्णाधार, बालबालिकासँग प्रदेश सरकार अन्तरसंवाद कार्यक्रममा उनले बालविवाह, बालश्रम, समाजमा रहेका कुरीति अन्त्यका लागि प्रदेश सरकारले आवश्यक सुझाव लिई कानूनको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने विश्वास दिलाए ।

मुख्यमन्त्री राईले मुलुकमा अहिले शान्ति र स्थिर सरकार रहेको अवस्थामा तीन तहको सरकारको समन्वयबाट समाजमा व्याप्त विभेद् र कुसंस्कारको अन्त्य गर्दै समुन्नत समाजको निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली‘ लाई सफल बनाउन कार्य गरिरहेको जानकारी दिए ।

उनले प्रदेश सरकार र स्थानीय निकायको संयुक्त पहलमा बालिकालाई विद्यालयस्तरमा निःशुल्क ‘स्यानिटरी प्याड’को व्यवस्था गर्ने जानकारी दिँदै आगामी बजेटमा बालमैत्री बजेट व्यवस्था गरी गरिबी र निरक्षर क्षेत्रमा शिक्षाको पहुँच पु¥याउने बताए ।

मुख्यमन्त्री राईले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अनुसन्धान भइरहेको जानकारी दिँदै उपयुक्त समयमा दोषीलाई कानुनी सजाय हुने विश्वास दिलाए ।

उनले लागुपदार्थ ओसारपसारको नियन्त्रण र दुव्र्यसनी न्यूनीकरणका लागि प्रदेश सरकारले ल्याएको सगरमाथा टेन्स क्लब ‘म अघि बढ्छु’ अन्तर्गत दुई हजार विद्यालयका १० लाख विद्यार्थी सदस्य भई समाजमा जनचतेना जागरण गर्ने कार्यले सहयोग पुग्ने धारणा व्यक्त गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालविवाह न्यूनीकरणलगायत बालबालिकासम्बन्धी कार्यक्रम १४ जिल्लाका सबै सुगमलगायत दुर्गम क्षेत्रमा जनचेतना जागृत गरी समाधान गर्ने अभियान सञ्चालन कार्यको शुरुआत आजदेखि भएको जानकारी दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश सरकारको पाँच वर्षीय योजना तयार भई सार्वजनिक गर्न बाँकी रहेको जानकारी दिँदै छात्रामैत्री विद्यालय, पूर्वबालबालिका बहुपक्षीय पोषण सुनिश्चित, खोप, प्रसूति स्याहार, उपचार, स्वच्छ खानेपानी र सबै स्थानीय स्वास्थ्य चौकीमा एमबीबीएस चिकित्सकको व्यवस्था हुने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव वीरबहादुर राईले अपाङ्गलाई निःशुल्क शिक्षा, औषधि उपचार, विशेष शिक्षा, पुनःस्थापना केन्द्रमा पालनपोषणसहित शिक्षा र सीपमूलक तालीम प्रदानलगायतका व्यवस्था भएको जानकारी दिए ।

संवाद कार्यक्रममा मोरङ जिल्लाका १७ स्थानीय निकायका विद्यालयका विद्यार्थी तथा बाल क्लबका बालबालिकाको सहभागिता थियो । सो अवसरमा बालबालिकाले बालअधिकारका बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्