संविधान दिवसको अवसरमा मु्ख्यमन्त्री राईद्वारा शुभकामना व्यक्त


 



बिराटनगर, असोज ३
संविधानको दिवसको अवसरमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गर्नुभएको छ ।

दिवसको आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतिक्षापछि संविधान प्राप्त भएको भन्दै उहाँले यसले जनताको जनभावना र अपेक्षा सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण, भूगोलका जनतालाई एकताको सुत्रमा आवद्ध गर्ने माध्यम भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले नेपालको संविधानले धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नुका साथै सबै वर्ग क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको बताउनुभयो ।

संविधानले लामो समयको राजनीतिक द्धन्द्ध र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको भन्दै उहाँले दिवसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो ।

राजनीतिक संक्रमणकाल समाप्त भएको वर्तमान परिप्रेक्ष्यमा स्वच्छ, सुखी र समुन्नत प्रदेशको मुल दृष्टिकोण सहित हामीले पहिलो आवधिक योजना तर्जुमा गरेको मुख्यमन्त्री राईले बताउनुभयो ।

साथै उहाँले ठूलो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ केन्द्रित हुन प्रदेशका सबै राजनीतिक दल र प्रदेशबासीलाई आव्हान गर्नुभएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्