संविधान नेपाली जनताको त्याग र बलिदानबाट आर्जित दस्तावेज : मुख्यमन्त्री राई


 


विराटनगर, असोज ३
प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले नेपालको संविधान–२०७२ ले नेपाली जनताका त्याग र बलिदानबाट आर्जित गरेको दस्तावेज रहेको बताउनुभएको छ ।

उहाँले राष्ट्र निर्माणका लागि बलियो आधार संविधान हो भन्दै सहकार्य र सहअस्तित्वलाई अंगिकार गरी शासन सञ्चालन भइरहेको कुरामा जोड दिनु भयो ।

तीन वटै सरकारकाबीच कुनै द्विविधा नरहेको प्रष्ट पार्दै मुख्यमन्त्री राईले सरकार सञ्चालनका लागि मूलभूत विषयमा राजनीतिक दलहरुबीच एकता कायम रहेको दावी गर्नु भयो । उहाँले प्रदेश नं.१ को नाम छिट्टै टुङ्गो लाग्ने जनाउँदै सरकार जनहीतको बाटो अग्रसर छ भन्नु भयो ।

उहाँले भ्रष्टाचारका लागि सरकारले शून्य सहनशीलता अपनाएको प्रष्ट पार्दै शासकीय पद्धतिलाई जवाफदेहिता र पारदर्शी बनाउन सरकार क्रियाशील छ भन्नु भयो । उहाँले संविधान दिवसको अवसरमा नेपाली दाजुभाई दिदीबहिनीप्रति शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा प्रदेश नं.१ का प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ कर्मचारीहरु, समाजसेवी, उद्योगपतिहरुको सहभागिता थियो ।

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्