अपराध नियन्त्रणका लागि कार्ययोजना


 


मुसिकोट, ४ असोज

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना शुक्रबार सार्वजनिक गरेको छ । आउँदै गरेको दशैँ, तिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न बीस बुँदे कार्ययोजा सार्वजनिक गरेको हो ।

नागरिकको जीउधनको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षासहितको योजना बनाइएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार चाडपर्व लक्षित आपराधिक घटनालाई नियन्त्रण गर्न २४ सै घण्टा प्रहरी परिचालन गरिने योजना निर्माण गरिएको बताइएको छ ।

प्रहरीले सार्वजनिक गरेको कार्ययोजनामा सबै प्रहरी एकाइबाट नियमित गस्ती, निगरानी तथा जिल्लामा आउजाउ हुने नाकामा प्रहरी टोली तैनाथ गरिने भएको छ । त्यस्तै सम्भावित भीडभाड हुने स्थानमा सादा पोशाकमा प्रहरी टोली खटाइ नागरिकलाई शान्तिपूर्ण वातावरणको प्रत्याभूति गराउने योजना रहेको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।

प्रहरी कार्यालयले चाडपर्वको अवधिभर नागरिकको सुरक्षाका लागि प्रहरी कार्यालय र मातहतबाट ३४५ प्रहरी परिचालन गरिने जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत सुरक्षा गार्डसँग समन्वय गरी सुरक्षा व्यवस्थामा कडाइ र सार्वजनिक यातायातका साधनमा हुने ठगी, चोरी एवं लुटपाट नियन्त्रणका लागि प्रहरी परिचालन गरिने कार्ययोजनामा बताइएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्