आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड अवरुद्ध



गोरखा, ५ असोज

गोरखाको लुँइटेल भञ्जाङ–आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड १० दिनदेखि अवरुद्ध भएको छ । लगातार परेको पानीका कारण सडक भासिँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो । जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भासिएर ५० मिटर तल पुगेको छ ।

“सडक भासिएपछि भदौ २६ गतेदेखि यो सडकखण्डमा सवारीसाधन पूर्णरुपमा ठप्प भएको छ”, स्थानीय रमित ढकालले भने, “सडक मर्मतको काम तीव्र गति हुन नसक्दा यात्रुले हैरानी खेप्नुपरेको छ ।” भूकम्प सहायता आयोजना कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक (एडिबी) को सहयोगमा तीन महीनाअघि मात्र उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएको थियो ।

लामो समयसम्म सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्रु हिँडेरै गन्तव्यसम्म पुग्नपर्ने बाध्यता रहेको ढकालले बताए । “मर्मतको काम अत्यन्तै सुस्त गतिमा अघि बढेको छ, दशैँको मुखमा सडक अवरुद्ध हुदा व्यवसायीलाई समेत समस्या परेको छ”, उनले भने ।

सडक मर्मतका लागि पालुङ्टार नगरपालिका, सडकको निर्माणकर्ता र सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । गएको भदौ २५ गते राति परेको भारी वर्षाका कारण भर्खरै गरेको कालोपत्र सडक भासिँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले जानकारी दिए ।

पालुङ्टार नगरपालिकाका इञ्जिनीयर अनुप देवकोटाले भने लगातारको झरीका कारण सडक मर्मत तत्काल हुन नसकेको जानकारी दिए । अब साताभित्र भत्किएको सडक मर्मत गरी सञ्चालन गर्ने उनले दाबीसमेत गरे । “अहिले ग्याबिन भर्ने काम भइरहेको छ”, इञ्जिनीयर देवकोटाले भने । उनले दशै अघि काम सम्पन्न गर्ने गरी मर्मतको काम शुरु गरिएको बताए । उक्त सडकको तार्के डाँडा खण्डमा पनि ठूलो पहिरो जाँदा गएको साउनमा समेत एक हप्ताभन्दा बढी सवारी आवागमन रोकिएको थियो ।

भूकम्पीय आपत्कालीन सहायता परियोजनाअन्तर्गत एशियाली विकास बैंकको रु ७० करोड र स्वीस सरकारको प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने ३० किलोमिटर सडक कालोपत्र भएको थियो तर सडक कालोपत्र भएको भए पनि पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले भने हैरानी खेप्नुपरेको छ । सडक अवरुद्ध हुँदा त्यस क्षेत्र भएर भच्चेक लगायतका ठाउँमा आवतजावत गर्ने यात्रुलाई भने समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News