तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार



दार्चुला, ७ असोज

दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक एयर एम्बुलेन्स हेलिकप्टरमार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गरेको हो । आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसीयूमार्फत थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।

उनीहरुको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार हुने बताइएको छ । तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले जानकारी दिए ।

कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महीना अघि नै तीन बच्चा जन्माएकी हुन् । यसअघि धामीका छ वर्ष र तीन वर्षका छोरी छन् । दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेशिन नहुँदा थप उपचारका लागि रिफर गरिएको ठगुन्नाले बताए ।

धामीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो । सोमबार नै एयर एम्बुलेन्समार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भए पनि कागजी प्रक्रियामा ढिलाइ हुँदा आज बिहान मात्र उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए ।

“गाउँपालिकाले सोमबार ढिलोगरी जानकारी गरायो”, उनले भने, कागजी प्रक्रिया मिलाउँदा आज बिहान मात्र स्वीकृत भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।” सरकारले समयमै महिला र नवजात शिशुको उद्धार गरेपछि सामाजिक प्रयोगकर्ताहरुले सरकारको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News