रगत आवश्यक परे ब्यारेकमा फोन


 


डोटी, ८ असोज

जिल्लामा वर्षौंदेखि ब्लड बैंक सञ्चालन गर्न नसकेको जिल्ला अस्पताल डोटीले रगत चाहियो कि नेपाली सेनाका व्यारेकमा फोन लगाउने गरेको छ । जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएको करीब पाँच वर्ष बित्न लाग्दासमेत उक्त बैंक सञ्चालनमा आउन सकेको छैन ।

ब्लड बैंक सञ्चालन गर्न नसक्दा अस्पतालले रगतका लागि नेपाली सेनालाई गुहार्ने गरेको हो । अस्पतालमा शल्यक्रिया गर्नुपर्नेलगायत बिरामीलाई आवश्यक पर्ने रगत नेपाली सेनाले उपलब्ध गराउँदै आएको छ ।

जिल्ला अस्पतालसहित अन्य कुनै पनि अस्पतालबाट रगत चाहियो भन्दै फोन आएपछि रक्तदान गर्न सेनाका जवान जाने गरेको सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

उनले भने, “हाम्रो रगत पाएमा बिरामी बाँच्छ भने किन रगत नदिने भन्ने लाग्छ, त्यसैले हामी जहिले जहाँ पनि रगत दिन तयार हुन्छौँ ।” उक्त गणमा रहेका नेपाली सेनाका जवानदेखि अधिकृतहरु आवश्यक परेमा रगत दिन तयार हुने गरेका छन् ।

रगत दिनेहरुलाई ब्यारेकले एक हप्तासम्म गरुङ्गो अर्थात भारी काम (धेरै पसिना) आउने काममा नलगाउने, आरामको सहुलियत दिने, हप्ता दिनसम्म पोषिलो खानेकुरा दिने गरेको गणपति खड्काले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रामस्वार्थ यादवले जिल्ला स्वास्थ्य कार्यालयसँग रहेको ब्लड बैंक धेरै लामो समयसम्म रगत राख्न सक्ने क्षमताको नहुँदा सञ्चालनमा नआएको र रगतको समस्या आए ब्यारेकबाट माग्ने गरेको बताए । उनले भने, “हामीसँग राखिएको रगत धेरै समय राख्न सक्ने क्षमताका फ्रिजहरु छैन, आवश्यक परे सेनालाई खबर गर्यौ र रगत आपूर्ति गर्छौँ ।”

जिल्लामा बिरामीलाई जुनसुकै समयमा पनि रगत दिइराख्नु परेपछि रुद्रध्वज गणका गणपतिदेखि तल्लो तहका कर्मचारी फालोर्ससम्म सबैको रगत समूह छुट्याएर राखिएको गणले जनाएको छ । कस्ले कहिले रगत दियो भनेरसमेत जानकारी राख्ने गरिएको सो गणको तथ्याङ्कमा उल्लेख गरिएको गणका सुबेदार मेजर भोजराज लामिछाने जानकारी दिए ।

“बिरामीलाई कुन रगत समूहको चाहिने हो त्यही रगत समूहको व्यक्ति अस्पतालमै गएर रगत दिने गरेका छौँ”, गणपति खड्काले भने, “हामीले मानवीयताका आधारमा रगत दिन्छौँ, कुन रगत चाहिन्छ हामी मान्छे खटाइहाल्छौँ ।”

हालसम्म उक्त गणका १३० जनाले जिल्ला अस्पताललगायत अन्य अस्पतालमा आएका बिरामीलाई रक्त दान गरेको गणको तथ्याङ्कमा उल्लेख गरिएको छ । डोटीमा एचआईभी सङ्क्रमितहरुको सङ्ख्या धेरै रहेकाले पनि रगत बढी आवश्यक पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सकहरु बताउँछन् ।

जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीका अनुसार जिल्ला अस्पतालमा पछिल्लो समय केही ठूलो खालको शल्यक्रियाको काम हुन थालेपछि रगत बढी मात्रामा चाहिने गरेको बताए । उनले भने, “अस्पतालमा उपकरण आएसँगै केही जटिल प्रकारको शल्यक्रिया गर्नुपर्ने हुँदा रगत अलि बढी चाहिन्छ । त्यसैले रगतको माग बढेको हो ।”

जिल्लाका ग्रामीण भेगबाट उपचार गराउन आउने बिरामीहरु जिल्लाको ब्लड बैंकमा रगत नहुँदा समस्यामा पर्ने गरेको गैरसरकारी संस्था महासङ्घ डोटीका अध्यक्ष रघु कठायतले बताए । जिल्ला अस्पतालमा सबैभन्दा बढी सुत्केरी गराउने महिलालाई रगतको अभाव हुने गरेको चिकित्सक बताउँछन् ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्