प्रदेश राजधानीको मुख्य शहरमा फोहोरै–फोहोर, मत्रालयकै प्रवेशद्वारमा हुन्छ फोहोरको थुप्रो
अंकुश कुँवर/धनगढी, असोज ९
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजारका विभिन्न चोक–चोकमा फोहोर थुपारिन्छ । जुन बाटो भएर विहानपख हिड्नै सकिदैन । स्वच्छ हावासंगै ‘मर्निङवाक’ गर्न जानेहरु विहानै फोहोरको डंगर भएर हिड्न बाध्य छन् ।
सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्रसमेत ्रहेको धनगढी बजारको मुख्य सडकमा जथाभावी रुपमा फालिने फोहोरले बजार नै कुरुप बनाएको छ । राति पर्न लागेदेखि विहान घाम झलमल्ल हुँदासम्म पनि बजार क्षेत्रका चोक–चोकमा झोलामा फोहोर ल्याएर फाल्नेक्रम रोकिदैन । त्यो पनि प्लाष्टिकका झोलामा फोहोर ल्याएर फाल्नेहरु धेरै हुन्छन् ।
उपमहानगरपालिकाले फोहोर संकलनलाई व्यवस्थित गर्न नसक्दा मुख्य सडकमै जथाभावी रुपमा फोहोर फाल्ने काम रोकिन सकेको छैन । मुख्य सडकका विभिन्न चोक–चोकमा रातिको समयमा फालिने फोहोर सडक नै छोपिने गरेको छ ।
यसरी फालिने फोहोरमा सबैभन्दा बढी होटलहरुबाट निस्किने फोहोरको मात्रा धेरै देखिएको छ ।
धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सरसफाईमा वार्षिक करोडौं खर्च भइरहेको दाबी गरेपनि फोहोर संकलन गर्ने कार्यलाई भने व्यवस्थित गर्न सकेको छैन ।
बजारबाट उत्सर्जित फोहोर संकलनलाई व्यवस्थित बनाउन नसक्दा विहान बजार क्षेत्रमा हिड्न सकिने अवस्था नै नहुने अवस्था आएको विहान मोर्निङ वाक गर्दै आउनुभएका धनगढी–१ का महेश जोशीले बताए । उनले विहानको समयमा मोर्निङ वाक गर्दा दुर्गन्ध नै सहनुपर्ने स्थिति रहेको यथार्त सुनाए ।
थुपारिएको फोहोरमै छाडा चौपाया र कुकुर जम्मा हुने हुँदा पनि रातिको समयमा सवारी साधनको आवात जावतमा पनि समस्या भइरहेको छ । धनगढीमा छाडा गाईबस्तु र कुकुरको बिगबिगी नै छ ।
मुख्य सडक नै छोपिने गरि फालिने फोहोरले बजार कुरुप बनाउनुका साथै दुर्गन्ध फैलिएर विभिन्न किसिमका रोगहरु लाग्ने जोखिम पनि त्यत्तिकै बढेको नगरबासी बताउँछन् । मुख्य बजार क्षेत्रको चौराहा, चटकपुर, बसपार्क, रातोपुल, नयाँ बजार, एलएनचोक, मालपोत चोक (अस्पताल लाइन), त्रिवेणी चोकलगायतका ठाउँमा जथाभावी रुपमा फोहोरहरु थुपारिने गरिएको छ ।
बजार क्षेत्रमा कसैले पनि आफै घरमा फोहोर जम्मा गरेर सोझै ट्याक्टरमा फाल्ने काम नगरेको स्ववयम धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड स्वीकार गर्छन् । उनले धनगढीको फोहोर व्यवस्थाप चाहेजसरी गर्न नसकेको बताए ।
‘अहिलेसम्म फोहोर संकलन व्यवस्थित बन्न सकेको छैन,’ उनले भने, ‘सबैले आ–आफ्नो घर तथा व्यापारिक भवनमै फोहोर जम्मा गरेर दैनिक रुपमा आफै फोहोर ट्याक्टरमा फाल्न लगाउनपर्ने देखिएको छ ।’ उनले यसका लागि आफूले पहिलेदेखि नै पहल गरिरहेको भएपनि सफल हुन नसकेको बताए ।
अब फोहोर संकलनलाई व्यवस्थित गर्न कडाईका साथ लाग्ने बताएका छन् । उनकाअनुसार यसरी फालिने फोहोरमा सबैभन्दा बढी धनगढीका फोहोरबाट उत्सर्जित फोहोर छ ।
देशका अन्य शहरहरुमा आफ्नो घर तथा भवनहरुबाट निस्किने फोहोरहरु सम्बन्धित व्यक्तिले आफै सम्बन्धित निकायबाट फोहोर संकलन गर्ने गाडीमा फाल्ने गर्छन् । तर, धनगढमिा भने अहिलेसम्म फोहोर संकलन व्यवस्थित हुन सकेको छैन ।