बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै


 


बैतडी, ११ असोज

बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुगेका ज्वरोका बिरामीमध्ये तीनजनामा डेङ्गु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनप्रसाद जोशीले जानकारी दिए । जिल्ला अस्पातलमा डेङ्गु देखिएका तीनै जना बिरामी दशरथचन्द नगरपालिका–१० का रहेका छन् ।

दुईजनाको जिल्ला अस्पतालमै उपचार गरिएको र एकजनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिश गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । योसँगै बैतडीका छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । तीनजनामा जिल्ला बाहिरका अस्पतालमा जाँच गर्दा डेङ्गु देखिएको हो ।

यस्तै बैतडीका २४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई स्क्रबटाइफस परीक्षण कीट उपलब्ध गराएको छ । देशैभरि उक्त रोगका बिरामी फेला परेकाले रोग परीक्षणमा सहयोग पुर्याउन २५ वटा कीट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।

यसअघि नगरपालिकाले जिल्ला अस्पताललाई ४५ वटा डेङ्गु परीक्षण कीट उपलब्ध गराएको थियो । नगरपालिकाले स्क्रबटाइफस र डेङ्गुबाट बच्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्