आज विजयादशमी, टीका लगाउने उत्तमसाइत १०:३५ बजे


 



काठमाडौं, असोज २१
बडादशैंको दशौं दिन आज मान्यजनबाट टीका र जमरा लगाइँदैछ । जसलाई नवदुर्गाको प्रसादका रुपमा पनि लिइने गरिन्छ ।

आश्विवन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज अर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाञ्ग निर्याायक समितिले आज देवी विसर्जनको साइत विहान ८ः४५ बजे रहेको जनाएको छ ।

टीका प्रसाद ग्रहण गर्ने साइत भने १०ः३५ रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । विजयादशमी आफैमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्न नपर्ने समितिले जनाएको छ ।

मंगलबार चन्द्रमा मकर राशीमा रहेकाले टीका लगाउने मानिस पूर्व फर्किनुपर्छ । टीका लगाइदिनेले पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।

मान्यजनबाट पूर्णिासम्म पनि टीका ग्रहण गर्न सकिन्छ । घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा मानिन्छ । जमराले विभिन्न रोगव्याधी औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा पनि पुष्टि भइसकेको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

प्रकाशित मिति: २१ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्