तीनजना फरार अभियुक्त पक्राउ


 


गाईघाट, ३ कात्तिक

इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले बताए।

फरार प्रतिवादीलाई जिल्लाको पूर्वी भागका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको अवस्थामा शनिबार पक्राउ गरिएको प्रहरी प्रमुख बुढामगरले बताए । २०४५ सालमा जङ्गलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउनको लागि बन्दुक हान्दा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दामा अभियुक्त फरार रहँदै आएको प्रहरीले बताएको छ ।

तत्कालीन जिल्ला अदालतले अभियुक्तलाई दोषी भएको भन्दै केही समयको लागि कैदको फैसला सुनाएको भए पनि ती अभियुक्तहरु फरार रहँदै आएको र गोप्य सूचनाको आधारमा अभियुक्त लामो समय जिल्ला बाहिर र हाल जिल्लाभित्रनै लुकिछिपी बस्दै आएको बुझिएपछि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्