सुदूरपश्चिम हुँदै भित्रिने पर्यटकको संख्यामा सुधार आएन
धनगढी, ४ कार्तिक
आगामी वर्ष सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहँदा सुदूरपश्चिम प्रदेशबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या भने बढ्न सकेको छैन ।
विदेशी पर्यटकको आगमनमा अझै सुधार हुन सकेको छैन । पर्यटक भित्र्याउन सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु अभियानकै साथ लागेपनि पर्यटन आगमनमा भने सुधार आउन नसकेको हो ।
भारतीय पर्यटकहरुको तथ्यांक नराखिने गरेको भएपनि तेस्रो मुलकुहरुबाट सुदूरपश्चिम घुम्न आउने पर्यटकको संख्या विगतको तुलनामा खासै फरक देखिएको छैन ।
सुदूरपश्चिममा कैलालीको त्रिनगर भन्सार नाका हुँदै सन २०१९ अगष्टसम्म ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । त्यस्तै, यो अवधिमा ४८ जना पर्यटक त्रिनगर नाका हुँदै प्रस्थान भएका छन् ।
यस वर्ष आठ महिनाको अवधिमा ५५ जना विदेशी पर्यटक भित्रिदा त्रिनगर नाका हु्ँदै गत वर्ष सन् २०१८ मा ८३ जना विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । त्यो वर्ष ६८ जना पर्यटक यही नाका हुँदै प्रस्थान भएको अध्यागमन कार्यालय त्रिनगरले जनाएको छ ।
अध्यागमन कार्यालयकाअनुसार यस वर्ष आठ महिनामा त्रिनगर नाका भएर अष्टे«लियन पर्यटक धेरै छन् । जम्मा ५५ जना विदेशी पर्यटकमध्ये १३ जना अष्टेलियाका पर्यटक रहेको अध्यागमन कार्यालय त्रिनगरका प्रमुख यादव भण्डारीले बताए ।
उनले गत वर्ष संयुक्त राज्य अमेरिकाका पर्यटक धेरै थिए । गत वर्ष त्रिनगर नाका हुँदै नेपाल भित्रिएका ८३ पर्यटकहरुमध्ये २७ जना अमेरिकाबाट आएका थिए ।
उहाँकाअनुसार त्रिनगर भन्सार नाका भएर खास गरेर अमेरिका, श्रीलंका, जर्मनी, फ्रान्स, कोरिया, मलेसिया, इटली, रसिया, स्पेन लगायतका देशका पर्यटकहरूको आवतजावत हुने गरेको छ ।
भारतको दिल्लीबाट त्रिनगर नाका छोटो दुरीमा पर्ने भएपनि पर्यटक आगमन भने कमै देखिएको छ । दिल्ली पुगेका प्रायः पर्यटकहरू हवाई मार्ग भएर सिधै काठमाडौं जाने गरेका छन् । सुदूरपश्चिममा खप्तड, बडीमालिका, शुक्लाफाँटा, रामारोशनलगायतका पर्यटकीय स्थल रहेका छन् ।
पर्यटक भित्र्याउनका लागि यो क्षेत्रको पर्यटकीय गन्तव्य प्राथमिकतामा पर्न नसक्नुले पर्यटक संख्यामा बृद्धि हुन नसकेको पर्यटन व्यवसायीहरु पनि बताउँदै आएका छन् ।
सरकारले सुदूरपश्चिम प्रदेशका केही पर्यटकीय स्थललाई पर्यटन गन्तव्यको रुपमा पहिचान गरेपनि प्रचार प्रसार र पूर्वाधार विकास गर्न नसक्दा पर्यटकीय क्षेत्रहरु पर्यटकको नजरमा पर्न सकेका छैनन् ।
गौरीफन्टा नाकासम्म आउनका लागि बाटो सहज नभएकाले पनि पर्यटक संख्या बढ्न नसकेको अध्यागमन कार्यालय प्रमुख भण्डारीले बताए ।
त्रिनगर नाका भएर भारतीय पर्यटकहरु आउने गरेको भएपनि तथ्यांक भने राख्ने गरिएको छैन । भारतीय पर्यटकहरु प्रायः छोटो समयका लागि मात्रै घुम्न आउने गरेका छन् ।
अध्यागमन प्रमुख भण्डारीले महिनामा अनुमानित पाँच सय बढी भारतीय पर्यटकहरु आइरहेको बताए ।
सुदूरपश्चिम प्रदेशमा पर्यटनको थुप्रै सम्भावना रहे पनि मुख्यतयाः प्रचार प्रसार हुन नसक्नु नै पर्यटन फष्टाउन नसकेको उनको भनाई छ ।