राजनीतिमा आउने रमेश खरेलको घोषणा : भन्छन्- म त्यतिकै चुप लागेर बस्नेवाला छैन


 


काठमाडौं, कात्तिक ५

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले राजनीतिमा आउने घोषणा गरेका छन् । कान्तिपुर टेलिभिजनको फायर साइडमा पत्रकार भुषण दाहालसँग कुरा गर्दै खरेलले राजनीतिमा आउने र आफै नेतृत्व लिने घोषणा गरे । खरेल ९ वटा जिल्लाको कमाण्डर भएर बसेको र दशौं हजार प्रहरीलाई कमाण्ड गरेका अफिसर हुन् ।

उनी पछिल्लो समय सामाजिक अभियान, भ्रष्टाचारविरुद्ध सार्वजनिक फोरममा खरो रुपमा उत्रिँदै आएका छन् । प्रहरी संगठनमा भएका विकृतिविरुद्ध पनि बेला बेला आवाज उनी उठाउने गर्छन ।

राजनीतिमा आउनेबारे यस्तो छ खरेलको धारणाः

राजनीतिमा आउन सक्छु । अहिलेको नेपाली कांग्रेस, नेकपा कम्युनिस्ट, राप्रपा, फोरम कुनैमा पनि जान्न् । उहाँहरु यस्तो दलदलमा फसेका छन् कि उनीहरुको उपचार नै छैन । त्यहाँ भएका शीर्ष नेताको उपचार छैन ।

यदि त्यहाँ भएका इमर्जिङ, नयाँ नेता जसले राष्ट्रको लागि केही गर्छु, म आफ्नो स्वार्थका लागि गर्दिन, नेपोटिजम, फेभरेटिजम र करप्शनको विरुद्धमा जान्छु, राष्ट्र निर्माणमा जान्छु भनेर कोही आउनुहुन्छ भने म कुनै इजम (वाद)सँग विश्वास राख्दिन। म राजनीतिमा सहकार्य गर्छु ।

सबभन्दा पहिला म आफै नेतृत्व गर्छु । म त्यतिकै चुप लागेर बस्नेवाला छैन । यो राष्ट्रलाई मेरो अनुभव, मैले जाने बुझेको शेयर गरेर परिवर्तनमा भूमिका खेल्छु । नेपाली जनताले परिवर्तन खोजेको छ । हामी चाहन्छौं अहिलेका राजनीतिज्ञहरु परिवर्तन हुनुस्, त्यो नेक्ससबाट बाहिर निस्किनुस् । तपाईहरुले जुन प्रतिज्ञा गर्नुभएको छ कार्यान्वयन गर्नुस् । तपाइलाई फेरि हामी भोट दिन्छौं । तर, यस्तो लक्षण देखिँदैन् ।

अब हामीहरुले पनि यसैमा भोट हाल्यौ भने विवेकमा बन्धक लगाएको म ठान्दछु । नेपाली जनताहरुले पनि अब विवेक, ६ सेन्स प्रयोग गर्छ जस्तो मलाई लागेको छ । हामीले किन इफोर्ट नलगाउने, हामी किन टुलुटुलु विसङ्गती, विकृतीलाई नै कहिले यसलाई भोट, कहिले उसलाई किन हाल्ने ?

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्