नेपाल–युएई संयुक्त कार्यसमूह बैठकको भोलिदेखि



काठमाडौँ, १६ कात्तिक

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक यही आइतबारदेखि काठमाडौँमा शुरु हुँदैछ ।

दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए । उनका अनुसार बैठकले एमओयू कार्यान्वयनको ‘मोडालिटी’ टुङ्गो लगाउनेछ । बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले गर्नेछन । यस्तै युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन् ।

बैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल आज काठमाडौँ ओर्लदैँ छ । बैठकले प्राविधिक विषय टुङ्गो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन् ।

आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गत असोज अन्तिम साता युएई पुग्नुभएका श्रममन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता उक्त बैठक बस्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News