विद्या भट्टराईको पहिलो सम्बोधन : ‘कास्कीकी छोरी बनेर चुनावमा आएकी छु’


 


पोखरा, कात्तिक १८
विद्या भट्टराईलाई कास्की क्षेत्र नम्बर २ को एकल उम्मेदवार सिफारिस गर्नुअघि नेकपा कास्कीको बैठकमा केही आवाज उठेको थियो, ‘संवेदनालाई मात्रै नहेरौं ।’ बाहिर पनि हेलिकप्टर दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारीकी पत्नी विद्यालाई उम्मेदवार बनाउने नेकपाले संवेदनाको राजनीति गर्‍यो भन्ने गाइगुईं चल्यो ।

उपचुनावको तयारीका लागि सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीको बैठकमा विद्याले आफूमाथि उठेका प्रश्नहरुमाथि संकेतमात्रै गरिनन्, पार्टीको प्रतिष्ठा बढाउने र निरन्तर सक्रिय राजनीति गर्ने प्रतिवद्धता पनि जनाइन् । ‘म उम्मेदवारका रुपमा खडा भइरहँदा केही प्रश्न उठेका छन् ।

ती प्रश्नको जवाफ दिने गरी पार्टीले, तपाईहरुले उम्मेदवारका रुपमा उभ्याउनुभएको छ,’ सोमबार जिल्ला बैठकलाई सम्बोधन गर्दै विद्याले भनिन्, ‘मैले कुनै पनि हिसाबले कमी नहुने गरी पार्टीको प्रतिष्ठालाई कायम राख्दै चुनावी अभियानमा होमिनेछु ।’ विगतमा काठमाडौंकी छोरीका रुपमा राजनीति गरेको भएपनि अब कास्कीकी छोरीका रुपमा उम्मेदवार बनेको उनले बताइन् ।

उनले विगतमा राजनीतिबाट किन टाढा भएको भनेर उठाइएको प्रश्नको पनि जवाफ दिइन् । ‘मैले हिजो किन राजनीति छोडेँ भन्ने प्रश्न छ, यसमा विवाहपछि महिलाको फरक जिम्मेवारी अवश्य हुन्छ । त्यसको जिम्मेवारीमा म पनि परेँँ र परिवारलाई सम्हाल्नका निम्ति पनि म सक्रिय राजनीतिबाट पछि हटेकी हुँ,’ विद्याले कास्कीका नेकपा नेता कार्यकर्ताबीच प्रतिवद्धता जनाइन्, ‘तर, मैले राजनीति छोडेकी होइन ।

पार्टीले दिएको जिम्मेवारीलाई न्याय अवश्य पुर्‍याउने छु ।’ प्राध्यापन पेशामा रहँदा पनि कुनै न कुनै हिसाबले पार्टीलाई सहयोग गर्दै आएको उनले बताइन् । हिजो एउटा पत्नीको रुपमा रवीन्द्रलाई सहयोग गरेको बताउँदै विद्याले अब पार्टीको विचार र सिद्धान्तलाई शिरोपर गर्ने बताइन् ।

‘मैले जसरी एउटी पत्नीका रुपमा रवीन्द्रलाई सहयोग गरेँ । रवीन्द्रको व्यक्तित्व निर्माणमा मेरो पनि महत्वपूर्ण भूमिका छ भनेर नै पार्टीले मेरो योगदानलाई चिनेरै मलाई उम्मेदवारका रुपमा उपयुक्त ठानेको होला भन्ने मलाई लाग्छ,’ विद्याले भनिन्, ‘यस हिसाबले म पार्टीको विचार, सिद्धान्तलाई शिरोपर गर्दै फेरि सक्रिय राजनीतिमा आएकी छु ।’ सोमबारको बैठकपछि भोलि मंगलबार पत्रकार सम्मेलन गरेर चुनावी तयारी र नेकपाका एजेण्डा सार्वजनिक गर्ने तयारी थालिएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: १८ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्