विवादकाबीच घोडाघोडी नगरपालिकाद्वारा वन क्षेत्रमा भवन शिलान्यास




कैलाली, कात्तिक २१
कैलालीको घोडाघोडी नगरपालिकाले विवादकाबीच पनि वन क्षेत्रको जग्गामा भवन निर्माणका लागि सिलान्यास गरेको छ ।

शिवशक्ति सामुदायिक वन समितिको संरक्षणमा रहेको सुखड बजारको उत्तरतिरको जग्गामा नगरपालिकाले बुधबार भवन शिलान्यास गरेको हो । प्रतिनिधिसभा सदस्य गौरीशंकर चौधरीले भवनको शिलान्यास गरे ।

वन समितिले आफ्नो जग्गामा भवन निर्माण गर्न सहमति दिएको छैन । उल्टै एकलौटी तरिकाले वनको जग्गामा भवन निर्माण गर्न लागिएको भन्दै वन समिति विरोधमा उत्रिएको छ । तर, भवन शिलान्या कार्यक्रममा भने घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले वन समितिले जग्गा उपलब्ध गराएको भन्दै धन्यबाद दिए ।

यसअघि यस विषयमा कुरा गर्दा नगरप्रमुख चौधरीले सो जग्गा वनको नभएको र खेर गइरहेकाले नगरपालिकाको भवन बनाउन लागिएको दाबी गरेका थिए । सोही कार्यक्रममा उनले शिवशक्ति सामुदायक वनले राखेका गुनासोहरुलाई नगरपालिकाकाले जसरी भएपनि सम्बोधन गर्ने अभिव्यक्तिसमेत दिए ।

‘सामुदायिक वन समितिले आफ्नो गुनासो भनेको नै सो जग्गामा भवन निर्माण गर्नुहुँदैन भन्ने हो,’ सामुदायिक वनका उपाध्यक्ष खेम जोशीले भने, ‘अरु हाम्रो कुनै गुनासो छैन, वन संरक्षण गर्नुपर्छ भन्ने मात्रै हो ।’ उनले नगरपालिकाको एकलौटी निर्णयका विरुद्ध वन ऐनअनुसार कारबाहीका लागि अगाडि बढ्ने बताए ।

वनले पनि आफ्ना माग सम्बोधन नगरेमा अर्को निकायलाई गुुहार्ने उनले बताए । ‘वन संरक्षण गर्ने भनेर हामीले वनको कार्ययोजनामै लेखेका हुन्छौं,’ उनले भने, ‘अब हामीले आफूलाई बचाउनका लागि पनि वन ऐनअनुसार अगाडि बढ्नुपर्ने हुन्छ ।’

नगरपालिकाले सो निर्णय नसच्याए कानूनअनुसार अगाडि बढ्नुको विकल्प नभएको वन समितिले जनाएको छ । उपाध्यक्ष जोशीकाअनुसार भवन शिलान्यासका क्रममा विरोध हुने संकेत देखेपछि नगरपालिकाले सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरामा भवन शिलान्यास गरेको थियो ।

नगरपालिकाले चार करोड १६ लाखको लगानीमा भवन बनाउन लागेको बताइएको छ । नगरपालिकाको कार्यालय अहिले सुखडमा भाडाको भवनमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News