कृषि प्रधान देश ! जहाँ मल गोदाममा राख्ने मौका मिल्दैन



अंकुश कुँवर
धनगढी, कात्तिक २२
सुदूरपश्चिममा किसानले यस वर्ष पनि मल अभाव खेप्न बाध्य भएका छन् । मलका लागि मल वितरण गर्ने सहकारीमा पुग्ने किसानहरु रित्तो हात फर्किन बाध्य छन् भने त्यसैगरी मलकै लागि कृषि सामग्री कम्पनी लिमिटेड धनगढीसम्म पुग्ने मल वितरक सहकारीका प्रतिनिधिहरु पनि रित्तै फर्किन्छन् ।

धनगढीस्थित कृषि सामग्रीको गोदाममा एक बोरा पनि मल छैन । गोदाम पुरै रित्तै छ । मल नभएपछि गोदामको सटर खोल्ने मौका पनि कृषि सामग्रीलाई मेलेको छैन । सुदूरपश्चिममा मल वितरण गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त प्रादेशिक प्रमुख नवलसिंह बोगटीले अहिले मलको गोदाम पूरै खाली रहेको बताए । उनकाअनुसार अहिले डीएपी र युरिया दुबै थरीको मल छैन ।

‘हामीले मल आयो भनेपनि भित्र राख्नै पाउँदैनौं,’ उनले भने, ‘शनिबार वा साँझपख आयो भने मात्रै राति गोदाममा राख्न भ्याउँछौं, फेरि पछिल्लो दिन सकिहाल्छ ।’ देशकै लागि मल प्रयाप्त नभएको भन्दै उनले सुदूरपश्चिममा मल झन अभाव हुने गरेको बताए । यो सिजनमा गहुँ, मसुरो, तोरीलगायतका लागि चाहिने डीएपी मल झन अभाव छ ।

केही दिन युरिया वितरण गरिएको भएपनि त्यो पनि सकिएको छ । अहिले अतिआवश्यक मल आउन अझै एक हप्ता भन्दा बढी लाग्ने कृषि सामग्रीका निमित्त प्रमुख बोगटीले बताए । उनले नेपालमा भएको डीएपी सकिएकाले अब भारतबाट आएपछि किसानले डीएपी मल पाउने बताए ।

‘यो सिजनमा चाहिने मल भनेको नै डीएपी हो, त्यही मल अभाव भएको छ,’ उनले भने, ‘केहीले त मल अभाव हुन्छ भनेर पनि लिएर राखेका कारण पनि मल सबैले पाउँदैनन् । युरिया मल पनि अहिले छैन ।’ उहाँकाअनुसार कृषि सामग्रीले यस वर्ष साउन यता २३ सय मेट्रिकछन डीएपी र २३ सय मेट्रिकटन युरिया वितरण गरेको छ ।

यति मल मात्रै सुदूरपश्चिमका प्रयाप्त होइन । जबकी यहाँ सोही समयका लागि तेब्बर बढी मल आवश्यक हुन्छ । ‘यहाँका लागि सोही अवधिमा झण्डै आठ हजार मेट्रिकटन डीएपी र ६ हजार मेट्रिकटन युरिया अवश्यक हो,’ निमित्त प्रमुख बोगटीले भने, ‘अहिलेसम्म विक्री भएको यसको आधा भन्दा पनि आधा हो, यतिले प्रयाप्त हुँदैन ।’

युरिया मल पनि सोमबार मात्रै धनगढी पुग्ने कृषि सामग्रीले जनाएको छ । भैरहवाबाट मल आइरहेकाले आइतबार वा सोमबार भन्दा अगाडि किसानले पाउन नसक्ने कृषि सामग्रीका रुपबहादुर कुँवले बताए । उनले मंगलबारदेखि मल सकिएको बताए ।

तर, कृषि सामग्री कम्पनीबाट तिहारपछि मल पाउने बाँडिएका किसानहरु दैनिक रुपमा धाइरहेका छन् । तर, मल पाउन सको छैनन् । केही तिहारपछि मल पाएर थन्क्याइसके भने केही दैनिक रुपमा कृषि सामग्री धाइरहेका छन् ।

‘यो वर्ष एक पटक मात्रै ७० बोरा डीएपी लिएका थियौं,’ त्यसपछि पाइएको छैन,’ मसुरियाको देउराली महिला कृषि सहकारी यमकुमारी ढकालले भनिन्, ‘तर, किसानले त्यो एकैछिनमा सके, अझै कति चाहिन्थ्यो कति, पाउनै गाह्रो छ ।’

गोदावरी नगरापलिकाको दिदीबहिनी महिला कृषि सहकारीकी दुर्गा शाहले पनि मल अभावले समस्या खेप्नुपरेको सुनाइन्् । ‘तिहारपछि त मल पाइएला भनेर पटक पटक कृषि सामग्री पुग्ने गरिएको छ,’ उनले भनिन्, ‘तर, अहिले आवश्यक मल मात्रै होइन, युरिया पनि पाउन सकिएको छैन ।’

सरकारले प्रयाप्त मलको व्यवस्था गर्न नसक्दा किसानहरु वर्षेनि मल अभाव खेप्न बाध्य भइरहेको उनले बताइन् । कृषि सामग्रीबाट पाइने मल पाउन नसकेपछि यहाँका किसानहरु भारतको कमसल मल प्रयोग गर्न बाध्य भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News