देउसी खेलेर ब्लड बैक अभियानलाई सहयोग


 


बाबुराम बास्तोला
संखुवासभा, कातिक २३
सदरमुकाम खाँदबारीमा अवस्थित सुर्य बोडिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको रकम ब्लड बैक अभियानलाई सहयोग गरेका छन् । विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको ७ हजार १ सय ५५ रुपैयाँ अभियानलाई सहयोग गरेका हुन् ।

जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापनाको लागि सिर्जनशिल सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको अभियानलाई विद्यार्थीहरुले सहयोग गरेका हुन् । विद्यार्थीहरु मात्रै हैन सदरमुकाम खाँदबारीका विभिन्न टोलहरु समेत सक्रिय भएर देउसी खेलेको रकम ब्लड बैंक स्थापना अभियानलाई सहयोग गरेका हुन् ।

विद्यार्थीहरु संगै खाँदवारि नगरपालिका वडा नम्वर ८ रातमाटे देउसि भैलो टोलिले रु १० हजार १ सय ५, विदाई चौतारा टोल विकास संस्थाले १० हजार १ सय १० रुपैया अभियानलाई सहयोग गरेका छन् । त्यस्तै बुद्ध टोल र दुरसंचार सक्रिय महिला समुहबाट १५ हजार ५ रूपैया र ढोलबाजे टोल विकास संस्था तथा बरुण वाल क्लवले १० हजार ३ सय रुपैया संकलन गरेर रक्त सञ्चार केन्द्र स्थापनाको अभियानलाई सहयोग गरेको सिर्जनशिल सामुदायिक विकास केन्द्रकी सचिव बबिता कटुवालले जानकारी दिइन् ।

२०७५ मंसिर २ गते मनकामना धाममा लागेको एकादशी मेलाबाट सिर्जनशिल सामुदायिक विकास केन्द्रले रक्त सञ्चार केन्द्र स्थापनाको लागि आर्थिक सहयोग संकलन सुरु गरेको थियो । मेलामा सामुदायिक संस्थाले चिया विक्रीबाट २९ हजार ५ सय रुपैयाँ रकम संकलन गरेको थियो । चिया विक्रिबाट सुरु गरिएको अभियानबाट हाल सम्म १३ लाख २४ हजार सहयोग संकलन भएको सिर्जनशिल सामुदायिक विकास केन्द्रका सचिव वविता कटुवालले जानकारी दिइन् ।

सामुदायिक विकास केन्द्रले देश, विदेशमा रहेका विभिन्न व्यक्तिहरु मार्फत सहयोग संकलन गदै आएको छ । जिल्लाबासी मात्र नभएर अन्य जिल्लाका विभिन्न व्यक्तिबाट रक्त सञ्चार केन्द्र स्थापनाका लागि सहयोग प्राप्त भइरहेको सिर्जनशिल सामुदायिक विकास केन्द्रका अध्यक्ष राधादेवि बस्नेतले जानकारी दिईन् ।

यसै आर्थिक वर्षमा जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बस्नेतको भनाई छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा संखुवासभासंगको सहकार्यमा रक्त सञ्चार केन्द्र स्थापना गर्ने प्रयास सुरु गरिएको अध्यक्ष बस्नेतको भनाई छ ।

जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानु पर्ने बाध्यता भएकाले यस संस्थाले ब्लड बैंक स्थापनको लागि सहयोग संकलन अभियान चलाइएको सचिव कटुवालले बताईन् । सचिव कटुवाल भन्छिन्–‘गर्भवतिका लागि तत्काल रगतको आवश्यक परेमा रगत अभावले गर्भवतिको ज्यान उच्च जोखिममा नपरोस भन्ने उद्देश्यले महिलाहरुनै सक्रिय भएर ब्लड बैंक स्थापना गर्नको लागि अगाडि बढेका हौं ।’

आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने भएकाले विरामीको ज्यान जोगाउन महिलाहरु अगाडि बढेको उनको भनाई छ । संस्थाले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपिल गरिरहेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्