वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने


 


नवलपुर, २७ कात्तिक

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ ।

वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु वारपार गर्न सक्ने गरी यी पुल निर्माण हुनेछन् ।

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको पहिलो खण्ड गैँडाकोटबाट दाउन्नेसम्ममा कम्तीमा १५ जैविकमार्ग निर्माण गरिने योजना रहेको प्रमुख अधिकारीले बताए। गैँडाकोटबाट दाउन्नेसम्म विभिन्न क्षेत्रमा जङ्गलसमेत पर्ने भएकाले जङ्गल क्षेत्रमा वन्यजन्तु वारपार गर्ने पुल निर्माण गर्न लागिएको उनले बताए । सडकमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत नजिक पर्ने भएका कारण वन्यजन्तु यस क्षेत्रमा धेरै रहने हुँदा वन्यजन्तुलाई बाटो वारपार गर्नका लागि यी पुलहरु निर्माण गर्न लागिएको हो ।

वन्यजन्तुको आवतजावत हुने स्थानको अध्ययन गरी पुल निर्माण गरिनेछ । झण्डै १० स्थानमा हाल पानी निकासका लागि बनाइएका ‘कल्भर्ट’लाई नै वन्यजन्तु वारपार गर्न सक्ने गरी व्यवस्थापन गरिनेछ । पानी निकास र वन्यजन्तु वारपार दुवै प्रयोजनका लागि हुने गरी व्यवस्थापन गरिने योजना प्रमुख अधिकारीले बताए ।

गैँडाकोटबाट दाउन्नेसम्मको करीब पाँच स्थानमा भने वन्यजन्तु वारपारकै लागि भनेर नयाँ पुल निर्माण गरिने उनले बताए । वन्यजन्तु वारपार गर्न सक्ने गरी यी मार्ग निर्माण गरिनेछन् । यसले वन्यजन्तु वारपार गर्दा सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने घटनालाई रोक्न सहयोग पु¥याउने उनको भनाइ छ ।

गैँडाकोटको थुम्सी, कावासोतीको खरकट्टा, डण्डा–चोरमारबीचको ४० किलो, चोरमार–अरुणखोला, अरुणखोला–दुम्किबास र दाउन्ने क्षेत्रको जङ्गलमा वन्यजन्तुका लागि वारपार गर्ने पुल निर्माण हुनेछन् । दाउन्नेमा भने ‘ओभरपास’ (सडक माथिबाट वारपार गर्ने स्थान) बनाउने योजनाको विषयमा समेत छलफल अगाडि बढेको प्रमुख अधिकारीले जानकारी दिए । ठेक्का सम्झौताभित्र ‘ओभरपास’ बनाउने विषय नसमेटिएको भए पनि एडिबीसँग यस विषयमा छलफल चलिरहेको उनले बताए ।

वन्यजन्तु आवतजावत गर्ने अवस्थाको अध्ययन गरी यस क्षेत्रमा वन्यजन्तुका लागि ‘ओभरपास’ बनाउने विषयमा छलफल चलेको योजना प्रमुख अधिकारीले बताए । ‘ओभरपास’ बन्यो भने यो वन्यजन्तु वारपारका लागि बनाइने नेपालकै लागि पहिलो ‘ओभरपास’ हुनेसमेत उनले बताए ।

प्रकाशित मिति: २७ कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्