नारा जुलुस लगाएर सीमा विवाद समस्या समाधान हुँदैन : देउवा



धनगढी, कात्तिक २८
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

आगामी उपनिर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम आउनेक्रममा बुधबार धनगढी विमानस्थलमा प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको छ ।

नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक तवरबाट भारतसंग छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । मिचिएको सीमा फिर्ता ल्याउन नारा जुलुस लगाएर मात्रै केही नहुने भन्दै उहाँले यो समस्या समाधानका लागि सरकारले कुटनीतिक पहल गर्नुको विकल्प नरहेको बताउनुभयो ।

‘भारतले कब्जा गरेको जग्गा फिर्ता ल्याउन नारा जुलुस लगाएर केही हुँदैन,’ उहाँले भन्नुभयो, ‘सरकारले कुटनीतिक पहलमार्फत यो समस्या समाधान गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले महाकाली नदीलाई दुबै देशको सीमा नदी मानिएकाले भारतले मिचेको भूभाग नेपालकै भएको बताउनुभयो । ‘महाकाली साझा, पानी आधा–आधा भन्ने सहमति भएको हो, महाकाली नदी दुबै देशको सीमाना हो,’ उहाँले भन्नुभयो, ‘लिपुलेक त्रिदेशिय नाका भएकाले सोहीअनुसार अब सरकारले कुटनीतिक तरिकाले समस्या समाधान गर्नुपर्छ ।’

सोही अवसरमा नेता देउवाले कम्युनिष्टलाई बहुमत दिएर धोका खाएकाले अब आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो । उपनिर्वाचनमा कसैसंग तालमेल नहुने स्पष्ट पार्दै उहाँले पार्टीका उम्मेद्वारालाई जिताउन कांग्रेस कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रहसमेत गर्नुभयो ।

फरक प्रसंगमा बोल्दै सभापति देउवाले संवैधानिक पदको नियुक्ति उपनिर्वाचन पछि हुने सहमति सरकारसंग भएकोसमेत बताउनुभयो । सभापति देउवासंगै उहाँकी धर्मपत्नी डा. आरजु राणा देउवा पनि सुदूरपश्चिम पुग्नुभएको छ । देउवा कैलाली कञ्चपुरलगायतका जिल्लामा हुने पार्टीका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News